
विराटनगर । चोरीमा संलग्न आरोपी खोज्दै काठमाडौं आइपुगेको भारतीय प्रहरीको टोलीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
हैदराबाद प्रहरीका १ डीएसपीसहितको टोलीलाई पक्राउ गरेर भारतीय राजदूतावासको जिम्मा लगाइएको प्रहरीका एक जना उच्च अधिकृतले बताए ।
भारतीय प्रहरीलाई पक्राउ गरेकोबारे नेपालका अधिकारीहरूले आधिकारिक पुष्टि गर्न आनाकानी गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) अपिल बोहराले नागार्जुन नरपालिका क्षेत्रबाट भारतमा चोरी गरेर आएको आशंकामा ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको बताए । उनले भने, ‘चोरीमा संलग्न प्रमाण नभेटिएपछि उनीहरूलाई हामीले निगरानीमा राखेका छौं ।’
सो घटना गत शुक्रबारको भएको बताइएको छ । यसअघि २०८१ फागुनमा पनि पन्जाबबाट आएका ७ जना भारतीय प्रहरीलाई सीआईबीको टोलीले ठमेलको अलफ्ट होटलबाट पक्राउ गरेर दूतावासमा बुझाएको थियो ।


















