बेलबारीमा नागरिक समूह र नगरपालिका आमनेसामने

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १६, सोमबार १३:४९

विराटनगर । मोरङको बेलबारी नगरपालिकाको कामकारबाहीमाथि पारदर्शिताको प्रश्न उठाउँदै नागरिक समाज आक्रोशित बनेको छ । पछिल्ला दिनमा बढ्दो अनियमितता, घुस प्रथा, जनप्रतिनिधि र कर्मचारीको अकर्मण्यताविरुद्ध आवाज उठ्न थालेको हो ।

असार १२ गते नगरपालिकाभित्र भएको विवादलाई लिएर बेलबारीमा स्वतन्त्र नागरिक समूह र नगरपालिका आमनेसामने भएका छन् । पछिल्लो समय विवाद चर्किएको छ । नगर प्रमुख दिलप्रसाद राई (डीपी)को व्यवहार र अभिव्यक्तिले अवस्था थप जटिल बनाएको छ ।

Advertisement

उक्त घटनाको प्रतिक्रिया स्वरूप स्वतन्त्र नागरिक समूहले सोमबार बेलबारीमा पत्रकार सम्मेलन गर्दै घटनाको सत्यता र पृष्ठभूमि सार्वजनिक गरेको छ । बेलबारी–४ की उषा तामाङले नगरपालिकाभित्र लेखाप्रमुख र इञ्जिनियरसहितका कर्मचारीहरूले नियमित सेवासमेत घुस नलिएसम्म नदिने, तेलको कुपन वितरणमा मनपरी गर्ने र साना–ठूला काममा बारम्बार अवरोध पुर्याउने गरेको बताइन् ।

जनप्रतिनिधि निर्वाचित भएको ३ वर्ष बित्दासमेत नगरपालिकाले कुनै उल्लेखनीय पूर्वाधार परियोजना सम्पन्न गर्न नसकेको र जनप्रतिनिधि एवं कर्मचारी अनियमिततामा लिप्त भएको उनको आरोप छ । ‘बेलबारी–१ को व्यापारिक कम्प्लेक्स, बेलबारी–२ को रमिते भ्यू टावर, बेलबारी–११ को वडा कार्यालय, बेलबारी–४ को कोल्ड स्टोर, नगर अस्पतालजस्ता योजनाहरू अपूरा छन्,’ तामाङले भनिन्, ‘१ करोड ३३ लाख खर्च गरेर खरिद गरिएको विद्युतीय नगर बस ३ महिनादेखि त्यत्तिकै थन्क्याइएको छ ।’

नागरिक समाजले बस खरिदमा घोटालाको आशंका गरेको छ । नागरिक समाज आक्रोशित एवं आन्दोलित हुनुको चुरो विषय असार १२ गतेको एउटा घटनासँग गाँसिएको छ। नागरिक समाजलाई नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाले साथ दिएकी छन् ।

यसअघि असार १० गते उपप्रमुख कोइरालाले लेखाप्रमुख धनमाया राईसँग विभिन्न शीर्षकमा भएको खर्च विवरण मागेकी थिइन् । आर्थिक अपारदर्शिताको विषय बाहिर आएपछि उनले हिसाबकिताब मागेकी हुन् । लेखा प्रमुख राईले ‘हिसाब हेर्न दिन नमिल्ने’ भनेर असहयोग गरेपछि स्थानीय अगुवाहरुले सूचनाको हक प्रयोग गरेर विवरणहरु माग गरेका थिए ।

त्यसै सिलसिलामा केही युवाहरू लेखा शाखा र प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा पुग्दा नगर प्रहरीले गेटमै रोकेका थिए । जबरजस्ती प्रवेश गर्न खोज्दा बल प्रयोग गरिएको र तानातानसमेत भएको बताइएको छ ।

वातावरण तनावग्रस्त बन्दै जाँदा लेखाप्रमुखको कार्यकक्षमा ताला लगाउने प्रयाससमेत भएको थियो । मेयर दिलप्रसाद राई आफू ‘म यहाँको प्रमुख हुँ, मलाई नसोधी केही गर्न पाइँदैन’ भन्दै आक्रोशित बनेका थिए । उनले भिडिओ खिच्न र लाइभ गर्न नपाइने भन्दै भिडलाई रोक्न खोजे ।

त्यो दिनको घटना र विवादको भिडियो नै सार्वजनिक भएको छ । नगरपालिकामा हुने अनियमितता रोक्नुपर्ने माग राखेर गएको समूहमाथि मेयर अभद्र शैलीमा प्रस्तुत भएको भिडियोमा देख्न सकिन्छ । उक्त विवादपछि पदीय हैसियत बिर्सिएर गलत हर्कत गरेको भन्दै मेयर राईको आलोचना भएको थियो ।

केही व्यक्तिले उनलाई कार्यकक्षमा लगेर छलफल गर्न आग्रह गरेका थिए । तर, राईले आफू ‘४ जनासँग भिड्न सक्छु’ भनेर धम्क्याएको आरोप नागरिक समाजको छ । यता, असार १२ को घटनालाई लिएर बेलबारी नगरपालिकाका कर्मचारीहरूले अराजक समूहबाट धम्की आएको भन्दै असार १३ गते पेनडाउन गर्दै आन्दोलनको घोषणा गरेका थिए ।

त्यसपछि नेकपा (एमाले) बेलबारी नगर कमिटीले पनि विज्ञप्ति जारी गर्दै नागरिकहरूकै चरित्र हत्या हुने भाषा प्रयोग गरेको बेलबारी–३ का प्रतापकुमार थापाले बताए । उनले पारदर्शी हिसाबले कामकारबाही गर्न माग गर्दा र खर्च विवरण बाहिर ल्याउन दबाब दिँदा नगरपालिकाले नागरिक समाजमाथि मिथ्या, भ्रामक र जनविरोधी आरोप लगाएको बताए ।

नागरिक समूहले महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनलाई पनि उदाहरणका रूपमा प्रस्तुत गर्दै नगरपालिकाभित्र व्यापक आर्थिक अनियमितता भएको प्रस्ट पारेको छ। प्रतिवेदनअनुसार, २०८०–०८१ को लेखा परीक्षणमा मात्रै ४ करोड ९६ लाख ५ हजार बेरुजु देखिएको छ भने हालसम्म जम्मा बेरुजु रकम १६ करोड २७ लाख ७४ हजार पुगेको छ।

अझ दुःखद् कुरा, महालेखाको प्रतिवेदन जेठ ६ गते नै प्राप्त भएपनि बेलबारी नगरपालिकाको वेबसाइटमा अझैसम्म राखिएको छैन। नगरप्रमुखको आलोचना गर्दै थापाले भने, ‘नगरप्रमुख र जनप्रतिनिधि जनताका प्रतिनिधि हुन् । शासक होइनन् । नागरिकको आवाज सुन्ने जिम्मेवारी उनीहरुको हुन्छ । नागरिकमाथि धावा बोल्ने हैसियत राख्दैनन् ।’

गम्भीर अनियमिततामा संलग्न कर्मचारीहरूको संरक्षण गर्नुभन्दा नगरप्रमुख स्वयंले छानबिन गर्नुपर्ने नैतिक दायित्व रहेको थापा बताउँछन् । नागरिक अगुवाहरुले लेखाप्रमुख धनमाया राईसहितका कर्मचारीमाथि निष्पक्ष छानबिन हुनुपर्ने, दोषी देखिए तत्काल कारबाही गर्नुपर्ने, सूचनाको हकको सम्मान गर्दै खर्च विवरण सार्वजनिक गर्नुपर्ने, नागरिकमाथिको दमन र धम्कीको अन्त्य हुनुपर्ने, नागरिक–प्रशासन सहकार्यमा समृद्ध नगरपालिका बनाउने पहल लिनुपर्ने लगायतका माग राखेका छन् ।

बेलबारी नगरपालिकामा नागरिक आवाजमाथि दमन गरिएको भनेर जनप्रतितिनिधि र कर्मचारीको तीव्र विरोध भइरहेको छ । ‘नागरिक आवाज उठाउँदैछन् । तर, नेतृत्वले सुनिरहेको देखिँदैन। बेलबारी अब संवाद, जिम्मेवारी र पारदर्शिताको नयाँ युगतर्फ अघि बढ्ने कि दमन र अपारदर्शिताको दलदलमा फस्ने ? भन्ने प्रश्न उठेको छ । यहाँ चनाखो तरिकाले निगरानी गर्नुपर्ने अवस्था आएको छ,’ थापाले भने ।

बेलबारी नगरपालिकामा पछिल्लो समय मेयर र उपमेयरबीच तालमेल मिलेको छैन । मेयर राई एमालेबाट र उपमेयर कोइराला नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनीहरुबीचको विवादमा पारदर्शिताको प्रश्न उठाउँदै नागरिक समाज प्रवेश गरेको छ ।

थापाले पछिल्लो समय नगरपालिकाबाट सेवाग्राहीलाई दुःख दिने काम भइरहेको बताए । ‘यहाँ मेयर र उपमेयरबीचको ‘टसल’को कुरा छैन । बेथिति गर्ने र नगर्नेबीचको ‘टसल’ हो । नगरपालिका ठीक ढंगले चल्नुपर्छ भनेर हामीले खबरदारी गरेका हौं,’ उनी भन्छन्, ‘हामीलाई शान्तिपूर्ण बेलबारी चाहियो । जनताको आवाज दबाउने हैन । नागरिक आवाजलाई मेयर र उपमेयर जोडिएको द्वन्द्वका रूपमा लिन खोजिएको छ । तर, यो नागरिकको सरोकारको विषय हो ।’

मेयर राईले भने यो विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् । ‘यो कुरा विवाद गर्नेहरुलाई नै सोध्नु होला । म अहिले छलफलमा छु । बोल्न पाउँदिन’ भन्दै उनले फोन काटिदिए ।

तपाइको प्रतिक्रिया
एमाले महाधिवेशन : पदाधिकारीमा विराटनगरबाट काे–काे छन् उम्मेदवार ?
एमाले महाधिवेशन : विराटनगरबाट ६ जना केन्द्रीय सदस्यकाे उम्मेदवार
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान
पश्चिमी वायुकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?
बढेकाे बढ्यै डलरकाे भाउ, यस्ताे छ अन्य मुद्राकाे विनिमयदर
पेट्राेलकाे मूल्य बढ्दा डिजेलकाे घट्याे
सरकारी कार्यालय आगजनीका आरोपी छुट्दा विराटनगरमा फूलमाला र नाराबाजी, पूर्वमन्त्रीको जिम्मामा रिहा
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
महाधिवेशनमा चार नेताले छाडे केपी शर्मा ओलीको साथ, प्रदीप ज्ञवाली पनि रुष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.