कानुन संशोधन गरेर विकासको बाटो खोल्नुपर्छ : सभामुख अर्याल

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २९, आइतबार १६:३१

सिमरा । सभामुख डोलप्रसाद अर्याल (डीपी)ले संविधान र कानुनको उल्लंघन गरेर विकास र सुशासन सम्भव नहुने बताएका छन् । उनले विकासका नाममा कानुनी व्यवस्था मिच्नेभन्दा समयअनुकूल कानुन संशोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

बाराको सिमरामा आइतबार आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अर्यालले लोकतान्त्रिक व्यवस्थामा संविधान र कानुनको सीमाभित्र रहेर मात्रै राज्य सञ्चालन हुनुपर्ने बताए । विकासमा अवरोध गर्ने पुराना कानुन परिमार्जन गर्दै दीर्घकालीन सोचका साथ कानुन निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

मधेशका आठ जिल्लामा विकासको पर्याप्त सम्भावना भए पनि शिक्षा, स्वास्थ्य, सडक र सामाजिक विकासमा अपेक्षित प्रगति हुन नसकेको उनले बताए । विकास निर्माणमा स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै उनले स्थानीय तहका जायज माग पूरा गराउन प्रदेश र संघीय सरकारसँग निरन्तर पहल गर्न आग्रह गरे ।

अर्यालले सामाजिक सञ्जाल र मोबाइलको दुरुपयोगले समाजमा भ्रम, विकृति र दुर्घटना बढाएको भन्दै चिन्ता व्यक्त गरे । यसलाई नियन्त्रण गर्न सरकारी निर्देशनभन्दा नागरिक चेतना र बालबालिकालाई सानैदेखि दिइने सही शिक्षाको भूमिका महत्त्वपूर्ण हुने उनले बताए ।

मधेशको सामाजिक सद्भावलाई कायम राख्दै समग्र विकासका लागि कानुन निर्माणको तहबाट सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए । छठ पर्वका अवसरमा बारा र पर्साका विभिन्न छठघाट अवलोकनमा आएका अर्यालले जीतपुरसिमरा–४ स्थित नवनिर्मित श्रीकृष्ण मन्दिरको समेत अवलोकन गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.