मोरङको रतुवामाईमा आगोले जलेर घाइते भएकी महिलाको मृत्यु

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २९, आइतबार १४:०५

मोरङको रतुवामाई नगरपालिका–९ भौडा टोलमा ग्यास सिलिण्डरबाट ग्यास लिक भएर लागेको आगोले जलेर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

आगोले जलेर घाइते भएकी ३० वर्षीया सुरक्षा भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा आइतबार बिहानका राति २ः४५ बजेतिर मृत्यु भएको हो ।

प्रहरीका अनुसार गत कात्तिक २४ गते हलीतिहारका दिन अपराह्न करिब ४ः३० बजेतिर राधाश्याम पौडेलको दुईतले पक्की घरको भुइँतलामा रहेको भान्छा कोठामा ग्यास सिलिण्डरबाट ग्यास लिक भएर आगलागी भएको थियो । आगलागीबाट भान्छा कोठामा रहेका भाँडावर्तन, फर्निचर, अन्नपात, लत्ताकपडा, एक थान फ्रिज, एक थान दराज र एक थान टेलिभिजन जलेर नष्ट भएका थिए ।

आफन्तको घरमा आगलागीको चपेटामा परेकी सुरक्षा भान्छा कोठाबाट बाहिर निस्कने क्रममा जलेर घाइते भएकी थिइन् । उनी लोकनाथ भट्टराईकी छोरी हुन् । जलेर घाइते भएकी उनलाई सुरुमा उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो । सोही दिन थप उपचारका लागि सोनेपाली सेनाको हेलिकोप्टरमार्फत कीर्तिपुर बर्न अस्पताल पठाइएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको जानकारी आइतबार बिहान उनका श्रीमान प्रमोद पोखरेलले इलाका प्रहरी कार्यालय सिजुवालाई गराएका थिए । आगलागीबाट भान्छा कोठामा रहेका सामान जलेर नष्ट हुँदा करिब १ लाख १५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.