
विराटनगर । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विराटनगरमा भएको विवादित जग्गासको सट्टापट्टा विवादमा पनि जोडिएका छन् ।
काभ्रेको पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्षसमेत रहेका नेपाल विराटनगर महानगरपालिका– २ को जग्गा सट्टापट्टा विवादमा जोडिएका हुन् । २०६७ साल माघमा प्रधानमन्त्री भएका नेपाल नेतृत्वको सरकारले एक प्रयोजनमा रहेको महँगो जग्गा सट्टापट्टा गरी बिक्रीको अनुमति दिएको थियो ।
विराटनगर महानगरपालिका– २ को शंकरपुरस्थित तत्कालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालले ‘रिजाल टासी कम्पनी’बाट क्यानिङ्ग कम्पनी प्रालि खडा गरी कृषि प्रयोजनका लागि करिब साढे ३ बिगाहा क्षेत्रफलको जग्गा फलफूल खेतीका लागि छुट्याइएको थियो । विराटनगर महानगरपालिका–२ का वडाध्यक्ष कुमार पोखरेलका अनुसार रिजाल टासी कम्पनीको सो जग्गा सट्टापट्टा गरी हाल बिक्री भइसकेको छ ।
रिजाल परिवारले फलफूल खेतीका लागि रिजाल टासी कम्पनीमा हदबन्दीको जग्गा हाल मोरङको मोतिपुरतर्फ अर्को जग्गा देखाएर सट्टाभर्ना गरेको थियो । विराटनगरको महँगो जग्गा सट्टापट्टा गर्दा ठूलो आर्थिक चलखेल भएको थियो । मन्त्रिपरिषद्ले अनुमति दिएपछि रिजाल टासीको जग्गा प्लटिङ गरी बिक्री गरियो ।
सट्टापट्टा पछि विराटनगरको जग्गा संविधानसभा सदस्य एवं उद्योगी पवनकुमार सारडादेखि विशाल ग्रुप, मुरारका समूह, मोरङ सहकारी अस्पताल लगायतले खरिद गरेका थिए । मोरङ सहकारी अस्पतालले करिब ९ कट्ठा जग्गा खरिद गरी अस्ताल सञ्चालन गरिरहेको छ ।
शंकरपुरस्थित सोमबारे हाटबाट परिचित सो स्थानमा सट्टापट्टाको निर्णयअघिसम्म आँप बगैँचा थियो । रिजाल टासीले जुस र फलफूल उत्पादन गर्ने उद्देश्यसहित बगैँचा बनाएको थियो । तर, पछिल्लो समय जग्गाको मूल्यांकन आकासिएपछि जग्गा सट्टापट्टा गरिएको थियो ।

























