मोरङ कारागारमा महानन्दको मृत्यु : मिटरब्याजी मन्टुकै कारण परेका थिए जेल

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १८, बुधबार १७:३३
मन्टु भनिने सञ्जयप्रसाद रौनियार ।

विराटनगर । विराटनगर महानगरपालिका– ८ का ५५ वर्षीय महानन्द राय ट्याक्टर चलाउँथे । ट्याक्टरकै कामका लागि उनले मन्टु भनिने सञ्जयप्रसाद रौनियारसँग ऋण लिए ।

मन्टु विराटनगरका चर्चित मिटरब्याजी हुन् । मन्टु र महानन्द साथी हुन् । पटक–पटक गरेर उनले मन्टुसँग २ लाख ५० हजार रुपैयाँ ऋण लिएको देखिन्छ । विराटनगर–८ अशोक चोकको १ कट्ठा जग्गा र टिनको घर राजीनामा पास गरेर ऋणबापत लिएको पैसा मन्टुलाई रायले तिरिसके थिए ।

Advertisement

तर, मन्टुले महानन्दलाई आफ्नो घरभाडा बापत ९ लाख रुपैयाँ नबुझाएको बताए । महानन्दविरुद्ध मुद्दा हाले । मोरङ अदालतले महानन्दको नाममा ९ लाख रुपैयाँ तिनुपर्ने फैसला गर्यो । आफ्नै घरमा बसेको भाडा उनले तिरेनन् ।

त्यसपछि २०८१ असोज १३ मा कारागार चलान भए । कारागार चलान भएको १ महिनापछि मंसिर २ गते उनको मृत्यु भयो । उनलाई मधुमेह, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी समस्या थियो । कारागारमा रहँदा खुट्टामा घाउ आएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा ज्यान गएको हो ।

जेठान गणेश रायका अनुसार मन्टु र सञ्जय पहिले चिनजानकै साथी थिए । मन्टुकै कारण कारागार चलान भएपछि महान्दले आफूलाई फसायो भन्दै रोइकराइ गरे । कारागारमै रहेका बेला ज्वाइँको उपचारका क्रममा मृत्यु भएको गणेशले बताए । मन्टुले जालझेल गरी कारागार चलान गरेका ज्वाइँको मृत्यु भएको उनले बताए ।

२५ लाख रुपैयाँ भुक्तानी गरेर गणेशले ज्वाइँको जग्गा फिर्ता लिएका छन् । तर, जग्गा फिर्ता हुनुअघिको घरभाडा बापत मन्टुले महानन्दलाई मुद्दा दायर गरेका थिए । मन्टुले अहिले गणेशलाई घरको पैसा दिन ताकेता गर्दै हुलाकमार्फत चिट्ठी पठाएका छन् ।

मीनाले घर गुमाइन, मन्जुलाई मुद्दा

विराटनगर– ७ की मीना शाक्यले मिटरब्याजी मन्टुसँग २०७५ सालमा पटकपटक गरेर १७ लाख रुपैयाँ ऋण लिएकी थिइन् । त्यो ऋणको सावाँ ब्याजसहित उनले गत वर्षसम्म रौनियारलाई १ करोड ५ लाख रुपैयाँ बुझाइन् । त्यसमध्ये उनले बैंकबाटै ८५ लाख ५० हजार रुपैयाँ बुझाएकी छन् । बाँकी रकम उनले नगद नै भुक्तानी गरिन् ।

मीनाबाट रौनियारले २४ तोला सुन लगेका छन् । तर, त्यो सुन दिएका छैनन् । २०८१ सालमा सबै ऋण चुक्ता गरेकी उनीसँग मन्टुले फेरि पैसा मागिरहेका छन् । मीना भने मन्टुकै कारण घरविहीन भएकी छन् । ‘घर रोक्का गरिदिएको रहेछ । घर नै बेचेर उसको ऋण तिरें । अहिले भाडामा बस्दैछु,’ उनले भनिन्, ‘मन्टुले धेरै दुःख दिएको छ ।’

केही दिनअघि जिल्ला प्रशासन कार्यालय मोरङमा भएको छलफलमा मन्टुले मीनाबाट आफूले ५ लाख रुपैयाँ मात्रै पाएको दाबी गरे । मीनाले ८५ लाख ५० हजारको बैंक भुक्तानीको स्टेटमेन्ट र २४ तोला सुन धितो लिएबापत मन्टुले लेखेर दिएको कागज पेस गरेपछि उनी बेहोस भए ।

मिटरब्याज पीडितहरु भने मन्टुले जोगिनका लागि गरेको नाटक मात्रै भएको दाबी गर्छन् । छलफलका क्रममा बेहोस भएपछि अस्पताल भर्ना भएका उनका विषयमा त्यसपछि छलफल भएको छैन ।

मोरङको कटहरी गाउँपालिका– २ आदर्श टोलकी मन्जु शर्मा पनि मन्टुकै कारण सडकमा आएकी छन् । मन्टुसँग लिएको ५० हजारको ब्याज तिर्न उनले ११ धुर जग्गा र घर बेचिन् । मिटरब्याज आरोपमा २ वर्ष कारागार बसेर छुटेपछि मन्टु फेरि मन्जु डेरा बसेको घरमा पुगे । ‘यो घर मेरो नाममा पास गरिदे’ भन्दै धम्की दिए ।

शर्माका अनुसार घरायसी कामका लागि उनले २०७१ सालमा उनले ५० हजार रुपैयाँ ऋण मन्टुसँग लिएकी थिइन् । कागज गरेर लिएको ऋण तिरेकी उनले २०७७ सालसम्म ३ लाख रुपैयाँ तिरेकी थिइन् ।

कागज च्यात्न भन्दा कागज हराएको जवाफ दिएका मन्टु केही महिनाअघि उनी डेरा बसेको घरमा पुगेर आफ्नो नाममा राख्न दबाब दिए । अहिले मन्टुले २ लाख रुपैयाँ नदिएको भन्दै उनीविरुद्ध लेनदेन मुद्दा दायर गरेका छन् ।

मन्जु र मीनाजस्ता २० जनाको उजुरी जिल्ला प्रशासन कार्यालयमा मन्टुविरुद्ध छ । सबैलाई कुनै न कुनै रुपमा उनले ठगी गरेका छन् ।

विराटनगरका नामुद मिटरब्याज कारोबारी मन्टु २ वर्ष कारागार बसाइपछि सफाइ पाएका छुटेका व्यक्ति हुन् । कारागारबाट छुटेपछि मन्टुले फेरि पीडितसँग पैसा माग्दै छन् । कारागारबाट छुटेपछि उनको असुली गर्ने शैली फरक छ । पहिले पैसा उठाउन गुण्डा खटाउँथे । अहिले अहिले हुलाकबाट चिट्ठी पठाइरहेका छन् । अधिवक्तामार्फत अदालतमा मुद्दा गरिरहेका छन् ।

जग्गा धितोमा लिएर मन्टुले पहिले सर्वसाधरणलाई धम्की दिँदै पैसा माग्थे र कानुनी कारबाहीको डर देखाउँथे । १७ जना पीडितले ४ वर्षअघि जाहेरी दिएपछि मन्टुविरुद्ध २०७७ माघ १३ मा मुद्दा दायर भएको थियो ।

ठगी र अपराधिक लाभ मुद्दामा २०७७ माघ २० गते मोरङ अदालतका तत्कालीन न्यायाधीश ईश्वर पराजुलीको इजालासले मन्टुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्यो । पीडितले केही राहत महसुस गरे ।

मुद्दा चलिरहेकै बेला मन्टुले १७ जनाकै जग्गा फिर्ता गर्ने बचन दिए । श्रीमती ज्योतिलाई वारेस दिएपछि १७ जनालाई जग्गा फिर्ता गरे । पीडितकै जग्गा फिर्ता भएपछि उनीविरुद्धको मुद्दा तुलनात्मक रुपमा कमजोर भयो ।

२०७९ जेठ ९ गते ठगी र अपराधिक लाभ मुद्दामा मोरङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश कपिलमणि गौतमको इजालसले मन्टुलाई सफाइ दियो । २ वर्षपछि सफाइ पाएर छुटेका मन्टुले पीडितलाई नै नामसारी गरेको जग्गाको पैसा माग्दै फेरि धम्की दिइरहेका छन् ।

उनले अदालतमा लेनदेनको मुद्दा पनि दायर गरेका छन् । मन्टु २ वर्ष कारागार हुँदा राहतको महसुस गरेका पीडितले उनी छुटेपछि फेरि तनाब भोगिरहेका छन् ।

मन्टुले भने जग्गा बिक्री गरेको पैसा नदिएपछि हुलाकमार्फत मागेको बताउँछन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला मन्टुविरुद्ध परेको उजुरीमाथि छलफल भइरहेको बताउँछन् ।

अदालतमा पुगेर पीडितको नाममा जग्गा फिर्ता भइसकेका कारण मन्टुले पत्र पठाउँदैमा पीडित डराउनु पर्ने अवस्था नरहेको उनले बताए । दुवै पक्षलाई बोलाएर एकपटक छलफल गरेको बताउँदै उनले फेरि छलफल गरिने जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.