विराटनगर । धनकुटाबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बसमा असार १६ गते सोमबार प्रहरीले गाँजा फेला पार्यो ।
बा ३ ख १८९७ नम्बरको बसलाई धरान उपमहानगरपालिका–१३ निशाने डाँडामा रोकेर अस्थायी प्रहरी चौकी अमरहाटको टोलीले चेकजाँच गरेको थियो । त्यस क्रममा २ वटा बोरामा केरा र तितेपातीको पातभित्र लुकाएर राखिएको अवस्थामा ५५ किलोग्राम गाँजा बरामद भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।
उक्त गाँजा ओसारपसारमा संलग्न धनकुटाको सहिदभूमि गाउँपालिका–२ का ५४ वर्षीय तेजबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ । गाँजासहित पक्राउ परेका राईमाथि इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।
त्यस्तै, प्रहरीले असार १४ गते सुनसरीको बराहक्षेत्र नगरपालिका–५ तीनकुनेबाट १ सय २० किलो गाँजा बरामद गर्यो । विशेष सूचनाका आधारमा प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले धरानबाट कालाबन्जारतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६३७ नम्बरको टाटा कम्पनीको नानो कारलाई नियन्त्रणमा लिएको थियो ।
कारमा लुकाइछिपाइ ल्याउँदै गरेको ६ वटा कालो प्लाष्टिकको पोकामा प्याक गरिएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । गाँजा लोड गरिएको कार नियन्त्रणमा लिएको प्रहरीले कार चालक विराटनगर महानगरपालिका–४ इक्राहीका धीरज गोसाई र कारमा सवार मोरङको जहदा गाँउपालिका– ७ का २२ वर्षीय विकास यादवलाई पक्राउ गर्यो ।
गाँजाको ओसारपसारसँग सम्बन्धित यी २ वटा घटना प्रतिनिधिमूलक मात्रै हुन् । पछिल्लो समय गाँजाको ओसारपसार गर्ने क्रम रोकिएको छैन । धनकुटाको सहिदभूमिमा ठूलो मात्रामा गाँजा उत्पादन हुन्छ । सहिदभूमि मात्रै हैन, जिल्लाका विभिन्न स्थानमा गाँजाको उत्पादन हुँदै आएको छ ।
भोजपुर र उदयपुरमा पनि गाँजा उत्पादन हुन्छ । गाँजाको उत्पादन, ओसारपसार र व्यवस्थापनमा स्थानीयदेखि जनप्रतिनिधिसम्म संलग्न छन् ।
सबैभन्दा चकित पार्ने कुरा त, सहिदभूमि गाँउपालिकाका पूर्ववडाध्यक्ष अशोक राईको घरैमा गाँजा प्याकिङ भइरहेको भिडियो सार्वजनिकसमेत भइसकेको छ । तर, पनि सम्बन्धित निकायले अहिलेसम्म कुनै ठोस कारबाही गरेको छैन । अर्थात्, विभिन्न दबाब र प्रभावमा परेर कारबाही गर्न सकेको छैन ।
धनकुटाको सहिदभूमिलगायतका विभिन्न स्थानमा उत्पादन हुने गाँजा खुलेआम ओसारपसार हुन्छ । प्रहरीका विभिन्न चेकपोस्ट पार गर्दै गाँजा ओसारपसार हुनु सामान्य विषय हैन । मुख्य नाकामा चेकपोस्ट हुँदा पनि गाँजा ओसारपसारको दृश्यले प्रहरीको भूमिका कमजोर रहेको पुष्टि गर्छ ।
धनकुटा जिल्ला प्रहरी मातहतको इलाका प्रहरी कार्यालय छिन्ताङमा इन्स्पेक्टरकै नेतृत्वमा प्रहरी छ । मुलघाटमा नेपाल प्रहरीसहित सशस्त्रका इन्स्पेक्टरकै कमाण्डमा टोली छ । अन्य धेरै ठाउँमा प्रहरीको चेकपोस्ट छन् । तर, चेकपोस्ट कटाएर गाँजा तराईका जिल्लामा निर्वाध ओसारपसार भइरहेको हुन्छ ।
सवारीसाधन नै प्रयोग गरेर गाँजाको ओसारपसार गर्ने गरिएको छ । धनकुटाबाट सुनसरी, मोरङ, सप्तरीतर्फ गाँजा लैजाने क्रम बढ्दो छ । पटक–पटक गाँजा बरामद भए पनि उत्पादन र ओसारपसार रोकिएको छैन ।
प्रहरीको मिलेमतोमा बाहेक हरेक समान कटाउन मुश्किल हुन्छ । तर, कानुनद्वारा प्रतिबन्धित गाँजा उत्पादन र ओसारपसार कसरी सम्भव भइरहेको छ ? भन्ने आश्चर्यको विषय बनेको सरोकारवाला बताउँछन् ।
सरोकारवालाले प्रशासनिक कमजोरी, राजनीतिक संरक्षण र सुरक्षा कमजोरीकै कारण प्रहरी चेकपोष्टहरू औपचारिक मात्रै भएका छन् । जसका कारण गाँजाको उत्पादन र ओसारपसारमा संलग्नले सक्रिय हुने मौका पाएका छन् ।
मूल प्रश्न, गाँजा किन रोकिँदैन ?
धनकुटाको सहिदभूमि गाउँपालिका गाँजाको मूल केन्द्रको रूपमा चिनिन्छ । त्यहाँ व्यापक रुपमा गाँजा खेती हुन्छ । धनकुटाका अन्य स्थानसहित भोजपुर र उदयपुरमा समेत गाँजा उत्पादन हुन्छ ।
उत्पादित गाँजा ‘प्याकिङ’ गरेर तराईका विभिन्न स्थान हुँदै भारतसम्म पुर्याउने गरिन्छ । सहिदभूमि–१ का पूर्ववडाध्यक्ष अशोक राईको घरमै गाँजा ‘प्याकिङ’ गर्दै गरेको दृश्यले यसलाई पुष्टि गर्छ । राईमाथि प्रहरीले अहिलेसम्म अनुसन्धान एवं कारबाही गर्न आवश्यक ठानेको छैन ।
यसले एउटा गम्भीर प्रश्न उठाउँछ, ‘स्थानीय राजनीतिक नेतृत्व र गाँजाको धन्दा चलाउने सञ्जालबीच कस्तो सम्बन्ध छ ? किन प्रहरी, प्रशासन र राजनीतिक तहबाट वास्तविक नियन्त्रणको सट्टा निरन्तर मौनता छ ?’
धनकुटाको छिन्ताङ, मुलघाट, भेडेटार, त्रिवेनीजस्ता मुख्य नाकाहरूमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । तर, हरेकपटक गाँजा ओसारपसारका गाडीहरू सहजै चेकपोष्ट पार गरेर बाहिरिन्छन् । प्रहरीको मिलेमतोबिना यो सम्भव नहुने सरोकारवाला बताउँछन् ।
गाँजाको धन्दामा संलग्नले केरा, तितेपाती र तरकारीले छोपेर गाँजा लुकाउने, ढुवानीको रूट परिवर्तन गर्ने, चालक र सहचालकलाई छुट्टै तालिम दिने जस्ता प्रविधि र रणनीति अपनाउने गरेका छन् । पूर्ववडाध्यक्षको घरमा खुलेआम प्याकिङ हुनु र अझैसम्म कारबाही नहुनु आफैंमा राजनीतिक संरक्षणको बलियो प्रमाण हो ।
प्रहरी प्रशासनले कहिल्यै मूल स्रोतमा प्रहार गर्न नसक्नु, गाँजा उत्पादनस्थलमा धावा बोल्न नसक्नु र ठूला गिरोहलाई संरक्षण गर्नुले संकेत गर्छ कि नसा कारोबार अपराधभन्दा बढी सत्ताको सहमतिको परिणाम हो । यता, धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनाल गाँजा नियन्त्रणका लागि निगरानी बढाइएको बताउँछन् ।
तर, वास्तविकता के छ भने, ‘संयुक्त प्रयास’को नाममा प्रेस विज्ञप्ति निकाल्ने, केही साना व्यापारी र सवारी चालकलाई पक्राउ गरिने, अनि फेरि त्यही चक्र दोहोरिने ।’ स्रोतका भन्छ, ‘जबसम्म उत्पादन स्थलमै कडा नियन्त्रण हुँदैन, राजनीतिक संरक्षण तोडिँदैन, तबसम्म गाँजा कारोबार जिउँदै रहन्छ ।’
धनकुटाको चेकपोष्ट सजिलै छलेर आएका गाडीहरू सुनसरी, मोरङमा समातिनुले धनकुटा प्रहरीको कार्यशैलीमाथि मात्रै होइन, समग्र प्रदेश र केन्द्रको सुरक्षा रणनीतिमाथि नै गम्भीर प्रश्न खडा भएको छ । यद्यपि, धनकुटाका डीएसपी खनाल कुनै पनि युनिटका कर्मचारीले बदमासी गरेको पाइएमा कारबाही हुने बताउँछन् ।