तिज गीतमा मौलिकताको संरक्षणका लागि पहल गरौं 

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण ५, सोमबार १५:४१

तिज नेपाली महिलाको मात्र उत्सव होइन । यो समग्र नेपाली समाजको सांस्कृतिक पहिचान हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु नारीहरूले भगवान् शिवको आराधना गर्दै व्रत बस्ने, पूजा गर्ने, माइती जाने र गीत–संगीतमा रमाउने परम्परा सामाजिक र धार्मिक मूल्यसँग गाँसिएको छ ।

तिजका गीतहरू नारीको पीडा, ममता, मायालु सम्बन्ध, सामाजिक कुरीतिविरुद्धको विद्रोह र भावनात्मक आक्रोश अभिव्यक्त गर्ने माध्यमका रूपमा बर्सौंदेखि गुञ्जिँदै आएका थिए । तर, पछिल्ला वर्षहरूमा तिनै गीतको नाममा भड्किलो, अश्लील र सामाजिक मर्यादाविपरीतका सामग्री सार्वजनिक हुँदै जाँदा तिजको सांस्कृतिक पवित्रता र नैतिक गरिमा गम्भीर संकटमा परेको छ ।

सांगीतिक जगतको मौलिकता, रचनात्मकताको स्वतन्त्रता र व्यक्तिगत अभिव्यक्तिको अधिकार महत्वपूर्ण कुरा हुन् । तर, यिनै अधिकारको नाममा तिजजस्तो आस्था र परम्परासँग गाँसिएको पर्वलाई उच्छृंखल मनोरञ्जनको साधन बनाउनु सामाजिक उत्तरदायित्वको घोर बेइमानी हो । दोहोरो अर्थ लाग्ने र अश्लीलजस्तै सुनिने बोल प्रयोग गरेर हालै सार्वजनिक गरिएको ‘सल्ला दमारमा’जस्ता ‘गीतहरू’ यसका प्रमाण हुन् ।

यस्ता गीतले न नारी संवेदनालाई सम्बोधन गर्छन्, न त सांस्कृतिक चेतनालाई सम्मान गर्छन् । बरु, तिज पर्वको मूल आत्मालाई खण्डित गर्छन् र सामाजिक विकृति फैलाउने माध्यम बन्छन् । विगतमा तिजका गीतहरूले दाइजो प्रथाविरुद्ध आवाज उठाएका थिए ।

सशक्त नारी चेतना बोकेका गीतहरूले त्यो समयको सामाजिक संरचना र त्यसमा महिलाको अवस्था बुझ्न सकिन्थ्यो । ‘बुहारीभन्दा दाइजो प्यारो अहिले नेपालमा’ जस्ता गीतहरूले पीडा मात्र होइन, प्रतिरोध पनि व्यक्त गरेका थिए । तर, अहिले अधिकांश गीतमा त्यस्तो सन्देश छैन । बरु, हास्यास्पद दृश्य, उत्तेजक शब्द, अवाञ्छित भावनाले भरिएका यस्ता सामग्रीले सांगीतिक विधालाई पनि अविश्वसनीय बनाइरहेका छन् ।

यस अवस्थाप्रति राज्य, समाज र सर्जक सबैले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता छ । सरकारले यस्ता गीतलाई नियन्त्रण गर्ने कानुनी संरचना निर्माण गर्न आवश्यक छ । अहिले युट्युबजस्ता डिजिटल प्लेटफर्म गीत सार्वजनिक गर्ने प्रमुख माध्यम बनेका छन् । तर, त्यहाँ कुनै निगरानी छैन । कुनै सांस्कृतिक फिल्टर छैन । फलस्वरूप, जो–कोहीले जे पनि उत्पादन गर्न सक्ने वातावरणले गर्दा तिज गीतको नाममा विकृति खुलेआम फैलिएको छ ।

यस्ता विकृतिलाई ट्रेन्डिङ, भ्यूज, कमेन्ट र भाइरल भएको आधारमा स्वीकार गरिरहने हो भने हामी चाँडै एउटा पवित्र पर्वलाई पूर्णतः हास्यास्पद सांस्कृतिक रूपान्तरणमा परिणत भएको देख्न सक्ने छौं । त्यही भएकाले गीत बनाउने, गाउने, बजाउने, सार्वजनिक गर्ने सबै पक्षको साझा आचारसंहिता आवश्यक छ । राष्ट्रिय लोकगीत संरक्षणका लागि स्रष्टाहरूले नै स्वअनुशासनका साथ मौलिकतालाई बचाउने जिम्मेवारी लिनुपर्छ ।

उपभोक्तामूलक समाजको दबाबमा सबै कुरा बिक्रीका वस्तुजस्तै प्रस्तुत गरिँदा संस्कृति, परम्परा र मूल्यहरू गम्भीर संकटमा पर्छन् । तिज पर्व र त्यसको गीत संस्कृति पनि यसको अपवाद होइन । अहिलेको आवश्यकता भनेको समाजलाई शिक्षित गर्ने, चेतना दिने, आत्मगौरव दिलाउने खालका गीतहरू बनाउने हो । त्यसका लागि हामीले पुराना सर्जकहरू हरिदेवी कोइराला, प्रजापति पराजुलीहरुबाट सिक्न जरुरी छ ।

सरकार, प्रहरी, मिडिया, र सामाजिक संस्थाले यस्ता विषयमा सतर्कता अपनाउनुपर्छ । युट्युबजस्ता माध्यममा सामाग्री सार्वजनिक हुँदा त्यसको सामाजिक मूल्यांकन कसरी हुन्छ भन्ने चेतना कलाकार स्वयंले राख्नुपर्छ । यसपटक राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल गलत खालका गीतको विरोध गर्दै गृहमन्त्रीसम्म पुगेको छ । यसलाई एउटा चेतावनीकै रूपमा लिन सकिन्छ । समाज अब मौन र तिजको अवमूल्यन सहन तयार छैन भन्ने बुझ्नुपर्छ ।

हामी संस्कृतिमा रमाउने समाज हौं । तर, त्यो रमाइलो परम्पराको मर्यादाभित्र हुनुपर्छ । अहिलेको तिज गीत संस्कृतिको सुगन्ध नभएर भड्किलो व्यापारिक प्रयोग बन्दै गएको छ । यसलाई रोक्ने जिम्मा सरकारको मात्रै पनि हैन । हामी सबैले लिनुपर्छ । तिजको आत्मा जोगाउन, नारीको भावना बुझ्न र गीत–संगीतलाई संस्कृति जोगाउने माध्यम बनाइराख्न पूर्ण प्रतिबद्धता एवं कार्यान्वयन आवश्यक छ ।

अब पनि चुप बस्ने हो भने ‘भोलिको तिज’ पवित्रता होइन, केवल ‘भड्किलो भिडियो’का रूपमा चिनिनेछ । त्यसैले, समयमै चेतौं र तिज गीतमा मौलिकताको पुनर्स्थापना तथा संरक्षणका लागि साझा पहल गरौं ।

तिजको गीत–संगीत : पवित्रताको सुगन्धबाट विकृतिको बाटोतिर

तपाइको प्रतिक्रिया
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×