
तिज नेपाली महिलाको मात्र उत्सव होइन । यो समग्र नेपाली समाजको सांस्कृतिक पहिचान हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु नारीहरूले भगवान् शिवको आराधना गर्दै व्रत बस्ने, पूजा गर्ने, माइती जाने र गीत–संगीतमा रमाउने परम्परा सामाजिक र धार्मिक मूल्यसँग गाँसिएको छ ।
तिजका गीतहरू नारीको पीडा, ममता, मायालु सम्बन्ध, सामाजिक कुरीतिविरुद्धको विद्रोह र भावनात्मक आक्रोश अभिव्यक्त गर्ने माध्यमका रूपमा बर्सौंदेखि गुञ्जिँदै आएका थिए । तर, पछिल्ला वर्षहरूमा तिनै गीतको नाममा भड्किलो, अश्लील र सामाजिक मर्यादाविपरीतका सामग्री सार्वजनिक हुँदै जाँदा तिजको सांस्कृतिक पवित्रता र नैतिक गरिमा गम्भीर संकटमा परेको छ ।
सांगीतिक जगतको मौलिकता, रचनात्मकताको स्वतन्त्रता र व्यक्तिगत अभिव्यक्तिको अधिकार महत्वपूर्ण कुरा हुन् । तर, यिनै अधिकारको नाममा तिजजस्तो आस्था र परम्परासँग गाँसिएको पर्वलाई उच्छृंखल मनोरञ्जनको साधन बनाउनु सामाजिक उत्तरदायित्वको घोर बेइमानी हो । दोहोरो अर्थ लाग्ने र अश्लीलजस्तै सुनिने बोल प्रयोग गरेर हालै सार्वजनिक गरिएको ‘सल्ला दमारमा’जस्ता ‘गीतहरू’ यसका प्रमाण हुन् ।
यस्ता गीतले न नारी संवेदनालाई सम्बोधन गर्छन्, न त सांस्कृतिक चेतनालाई सम्मान गर्छन् । बरु, तिज पर्वको मूल आत्मालाई खण्डित गर्छन् र सामाजिक विकृति फैलाउने माध्यम बन्छन् । विगतमा तिजका गीतहरूले दाइजो प्रथाविरुद्ध आवाज उठाएका थिए ।
सशक्त नारी चेतना बोकेका गीतहरूले त्यो समयको सामाजिक संरचना र त्यसमा महिलाको अवस्था बुझ्न सकिन्थ्यो । ‘बुहारीभन्दा दाइजो प्यारो अहिले नेपालमा’ जस्ता गीतहरूले पीडा मात्र होइन, प्रतिरोध पनि व्यक्त गरेका थिए । तर, अहिले अधिकांश गीतमा त्यस्तो सन्देश छैन । बरु, हास्यास्पद दृश्य, उत्तेजक शब्द, अवाञ्छित भावनाले भरिएका यस्ता सामग्रीले सांगीतिक विधालाई पनि अविश्वसनीय बनाइरहेका छन् ।
यस अवस्थाप्रति राज्य, समाज र सर्जक सबैले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता छ । सरकारले यस्ता गीतलाई नियन्त्रण गर्ने कानुनी संरचना निर्माण गर्न आवश्यक छ । अहिले युट्युबजस्ता डिजिटल प्लेटफर्म गीत सार्वजनिक गर्ने प्रमुख माध्यम बनेका छन् । तर, त्यहाँ कुनै निगरानी छैन । कुनै सांस्कृतिक फिल्टर छैन । फलस्वरूप, जो–कोहीले जे पनि उत्पादन गर्न सक्ने वातावरणले गर्दा तिज गीतको नाममा विकृति खुलेआम फैलिएको छ ।
यस्ता विकृतिलाई ट्रेन्डिङ, भ्यूज, कमेन्ट र भाइरल भएको आधारमा स्वीकार गरिरहने हो भने हामी चाँडै एउटा पवित्र पर्वलाई पूर्णतः हास्यास्पद सांस्कृतिक रूपान्तरणमा परिणत भएको देख्न सक्ने छौं । त्यही भएकाले गीत बनाउने, गाउने, बजाउने, सार्वजनिक गर्ने सबै पक्षको साझा आचारसंहिता आवश्यक छ । राष्ट्रिय लोकगीत संरक्षणका लागि स्रष्टाहरूले नै स्वअनुशासनका साथ मौलिकतालाई बचाउने जिम्मेवारी लिनुपर्छ ।
उपभोक्तामूलक समाजको दबाबमा सबै कुरा बिक्रीका वस्तुजस्तै प्रस्तुत गरिँदा संस्कृति, परम्परा र मूल्यहरू गम्भीर संकटमा पर्छन् । तिज पर्व र त्यसको गीत संस्कृति पनि यसको अपवाद होइन । अहिलेको आवश्यकता भनेको समाजलाई शिक्षित गर्ने, चेतना दिने, आत्मगौरव दिलाउने खालका गीतहरू बनाउने हो । त्यसका लागि हामीले पुराना सर्जकहरू हरिदेवी कोइराला, प्रजापति पराजुलीहरुबाट सिक्न जरुरी छ ।
सरकार, प्रहरी, मिडिया, र सामाजिक संस्थाले यस्ता विषयमा सतर्कता अपनाउनुपर्छ । युट्युबजस्ता माध्यममा सामाग्री सार्वजनिक हुँदा त्यसको सामाजिक मूल्यांकन कसरी हुन्छ भन्ने चेतना कलाकार स्वयंले राख्नुपर्छ । यसपटक राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल गलत खालका गीतको विरोध गर्दै गृहमन्त्रीसम्म पुगेको छ । यसलाई एउटा चेतावनीकै रूपमा लिन सकिन्छ । समाज अब मौन र तिजको अवमूल्यन सहन तयार छैन भन्ने बुझ्नुपर्छ ।
हामी संस्कृतिमा रमाउने समाज हौं । तर, त्यो रमाइलो परम्पराको मर्यादाभित्र हुनुपर्छ । अहिलेको तिज गीत संस्कृतिको सुगन्ध नभएर भड्किलो व्यापारिक प्रयोग बन्दै गएको छ । यसलाई रोक्ने जिम्मा सरकारको मात्रै पनि हैन । हामी सबैले लिनुपर्छ । तिजको आत्मा जोगाउन, नारीको भावना बुझ्न र गीत–संगीतलाई संस्कृति जोगाउने माध्यम बनाइराख्न पूर्ण प्रतिबद्धता एवं कार्यान्वयन आवश्यक छ ।
अब पनि चुप बस्ने हो भने ‘भोलिको तिज’ पवित्रता होइन, केवल ‘भड्किलो भिडियो’का रूपमा चिनिनेछ । त्यसैले, समयमै चेतौं र तिज गीतमा मौलिकताको पुनर्स्थापना तथा संरक्षणका लागि साझा पहल गरौं ।

























