‘स्थानीय तहका दलित महिला जनप्रतिनिधिलाई बजेटमा विभेद’

Share this
692shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ साउन ६, मंगलबार १६:१०

विराटनगर । स्थानीय तहका दलित महिला जनप्रतिनिधिहरू बजेट विभेदको शिकार बनिरहेको गुनासो आएको छ ।

विराटनगरमा मंगलबार आयोजित कार्यक्रममा उनीहरूले बजेट नीतिमा आफूहरू उपेक्षित भएको अनुभव साझा गरेका हुन् । महिला दलित संघ (फे‍‍‍‍डो)को आयोजनामा नेतृत्व समानता र सामाजिक न्यायका लागि महिला जनप्रतिनिधिको अभिमुखीकरण तथा जिल्लास्तरीय सञ्जाल गठन कार्यक्रममा मोरङ जिल्लाका १७ वटा स्थानीय तहका महिला जनप्रतिनिधिहरू सहभागी थिए।

कार्यक्रमको सुरुवात कोशी प्रदेशको विराटनगरबाट भएको फेडो मोरङकी अध्यक्ष शर्मीला परियारले जानकारी दिइन्। उनका अनुसार यो कार्यक्रम सातै प्रदेशमा क्रमशः सञ्चालन गर्ने योजना छ ।

बुढीगंगा गाउँपालिकाकी वडा सदस्य सुमित्रा ऋषिदेवले दलित समुदायका लागि छुट्याइने बजेटमा पटक–पटक विभेद भएको बताइन् । उनले भनिन, ‘हामीले त कार्यालयमै ताल्चा लगाएर विरोध गर्यौं । तर, पनि सुनुवाइ भएन।’

जनताले भोट दिएर ठाउँमा पुर्याइदिए पनि आफूहरुको ठाँउ के हो भन्ने अन्योल भएको उनी सुनाउँछिन् । उनी भन्छिन, ‘जनताले हामीलाई ठाउँमा पुर्याए । तर, हाम्रो ठाउँ के हो थाहै छैन् ?’

सुनवर्सी नगरपालिकाकी वडा सदस्य डिल्लीमाया मग्रातीले जनप्रतिनिधिमाझ बजेट बाँडफाँटको व्यवहार असमान भएको बताइन् । उनी भन्छिन्, ‘कर्मचारी र पालिका प्रमुख मिलेर निर्णय गर्छन् । तर, हामीसँग राय लिँदैनन् ।’

‘हाम्रो भनाइ बुझ्ने कोही छैनन् । बोल्न दिँदैनन्,’ उनले भनिन् । त्यसै त पार्टीले नबोल्ने जनप्रतिनिधि पठाउने भएकाले दलित महिला जनप्रतिनिधि बोल्न नसक्ने कार्यक्रमका सहभागीहरुको गुनासो छ ।

फेडोकी संस्थापक अध्यक्ष दुर्गा सोवले जातीय आधारमा हुने विभेद अझै पनि अन्त्य नभएको बताइन्। उनले भनिन्, ‘दलित महिला जनप्रतिनिधिको संख्या घट्दो छ । यो गम्भीर चिन्ताको विषय हो ।’ उनले संगठित भएर विभेदविरुद्ध लड्नुपर्ने आवश्यकता औंल्याइन्।

दलित महिला जनप्रतिनिधिहरूको अनुभवले स्थानीय तहमा नीति निर्माण र बजेट विनियोजनमा अझै पनि सामाजिक समावेशीताको गम्भीर अभाव देखिएको मोरङ अध्यक्ष परियार बताउँछिन् । उनका अनुसार फेडोले उनीहरूलाई सशक्त बनाउन र समान अधिकारका लागि लड्न सहयोग गर्ने छ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.