फाइल फोटोमहोत्तरी । बर्दिवासस्थित लागुऔषध नियन्त्रण ब्युरो शाखाले गत आर्थिक वर्षमा करिब तीन करोड मूल्य बराबरको लागुऔषध बरामद गरेको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा सो रकम बराबरको विभिन्न लागुऔषध बरामद गरिएको ब्युरोले जनाएको हो। यस क्रममा ५५ जना पक्राउ परेको र लागुऔषध ओसरपसारमा प्रयोग गरिएका विभिन्न १६ सवारीसाधन नियन्त्रणमा लिइएको ब्युरो प्रमुख प्रहरी नायब निरीक्षक सरोज अधिकारीले जानकारी दिए।
यस अवधिमा सबैभन्दा बढी परिमाणमा गाँजा १५.१४ क्वीन्टल बरामद भएको छ। गाँजा बरामदका क्रममा छ जना पक्राउ परेको र ओसारपसारमा प्रयोग भएका तीन थान मिनिट्रक तथा तीन थान जीप नियन्त्रणमा लिइएको छ। बरामद गाँजाको अनुमानित मूल्य रु एक करोड ९९ लाख छ।
यसैगरी सो अवधिमा ‘इनफ्रेडिन’ नामक लागुऔषध ८५४ ग्राम बरामद भएको छ। यो बरामदीसँगै तीन महिला र दुई पुरुष गरी पाँच जना पक्राउ परेका छन्। यो लागुऔषधको अनुमानित मूल्य ६८ लाख ३२ हजार हुने ब्युरोले जनाएको छ।


















