संकटमा विराटनगरको बाल सुधारगृह : सुरक्षा र सुधार दुवैमा खतरा

Share this
807shares
मुलुकी खबर
किशोर बुढाथोकी/सुजता लिम्बू
clock२०८२ श्रावण २९, बिहीबार १३:५०

विराटनगर । विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधारगृहमा भएको दोहोरो झडपको घटनाले गृहको व्यवस्थापन, सुरक्षा र सुधारको उद्देश्यका बारेमा गम्भीर प्रश्न खडा गरेको छ ।

कानुनी विवादमा परेका १८ वर्षमुनिका बालकहरुलाई राख्ने उद्देश्यले स्थापना गरिएको सुधारगृह दिनदहाडै हिंसात्मक घटनाको केन्द्र बन्न पुगेको छ । बुधबार भएको दोहोरो झडप संयोग नभइ संरचनागत र प्रशासनिक कमजोरीको परिणाम भएको सरोकारवालाको बुझाइ छ ।

घटना विवरणअनुसार सुधारगृहमा रहेका केही बाल बिज्याइँकर्ताले बाहिरबाट ल्याइएको खैनी सेवन गरेका थिए । त्यसलाई लिएर भित्र नै उनीहरुबीच विवाद र झडप हुन थाल्यो । त्यो विषयमा थाहा पाएपछि नेपाल प्रहरीका वरिष्ठ हवल्दार हिरणकुमार मण्डलले सोधपुछ गरे ।

त्यसपछि बाल बिज्याइँकर्ताहरु आक्रोशित बनेर मण्डललाई हातपात गर्न थाले । आक्रमणबाट हवल्दार मण्डल घाइते भए । टाउकोमा चोट लागेको छ । सामान्य अवस्थाका उनको कोशी अस्पतालमा उपचार भइरहेको छ ।

आक्रोशित बनेर प्रहरीमाथि जाइलागेका बाल बिज्याइँकर्तालाई सम्झाइबुझाइ गर्ने क्रम जारी थियो । उनीहरुको आक्रमणमा सुधारगृहको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका असई शम्भु चौधरी सामान्य घाइते भए । उनलाई उपचारका लागि लैजान परेन ।

बाल बिज्याइँकर्ताले प्रहरीमाथि आक्रमण मात्रै गरेनन् । उनीहरु दोहोरो झडप र तोडफोडमै उत्रिए । तर, ठूलो मानवीय क्षति भने हुन पाएन । तत्काल अपनाइएको सुरक्षा सावधानीले ठूलो संकट टरेको छ । यो घटनाले सुधारगृहको आन्तरिक सुरक्षा व्यवस्था कति कमजोर छ भन्ने कुरालाई उजागर गर्छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार बाहिरबाट केही व्यक्तिहरूले कालो प्लास्टिकको पोकामा सुर्तीजन्य पदार्थ फालेर सुधारगृहभित्र पठाउने गर्छन् । यसरी सहजै निषेधित वस्तुहरू भित्र छिराउन सक्नु बाह्य सुरक्षा प्रणालीमा पनि ठूलो कमजोरी रहेको प्रमाण हो । यो समस्या विगत लामो समयदेखिको रहेको स्थानीयको भनाइ छ ।

यसअघि पनि यहाँ झडप हुने, कर्मचारी र सुरक्षाकर्मीको आँखा छलेर बाल बिज्याइँकर्ता भाग्ने घटना भएका छन् । यो समस्या अहिलेको मात्रै हैन । विगतदेखि नै देखिँदै आएको छ । बुधबारको झडपमा पनि करिब १३० जनभन्दा बढी बाल बिज्याइँकर्ता मुल ढोका तोडेर बाहिर निस्किएका थिए ।

उनीहरु भाग्यो योजनासहित बाल सुधारगृहबाट बाहिर निस्किन खोजेका थिए । तर, ठूलो संख्यामा परिचालित नेपाल र सशस्त्र प्रहरीले घेरा हालेर उनीहरुलाई सुधारगृहभित्रै पठाए । अर्थात्, बेलैमा अपनाइएको प्रवभाकारी सुरक्षा सावधानीका कारण उनीहरु भाग्न पाएनन् ।

सुधारगृहमा क्षमताभन्दा ४ गुणा बढी बाल बिज्याइँकर्तालाई राखिएको छ । विभिन्न अपराधिक घटनामा संलग्न भएका बालकलाई अदालतको आदेश र फैसला अनुसार सुधारगृहमा राख्ने गरिन्छ । तर, गृहमा १८ वर्षमाथि ३१ वर्षसम्मका पनि छन् ।

सुधारगृह ५० जना क्षमताको हो । हाल २४९ जनालाई राखिएको छ । जसमा ६० जना पुर्पक्षमा रहेका छन् भने १८९ जनाको मुद्दाको फैसला भइसकेको छ । क्षमताभन्दा यति धेरै बाल बिज्याइँकर्ता त राखिएकै छ । उनीहरुको उमेरको दायरासमेत अस्वाभाविक रूपमा फराकिलो छ । १२ वर्षदेखि ३१ वर्षसम्मकालाई एउटै ठाउँमा राखिएको छ ।

मानव अधिकार सञ्जाल विराटनगरका अध्यक्ष बासु अधिकारीका अनुसार १८ वर्षमाथिकालाई छुट्टै राख्नुपर्ने भए पनि राज्यले त्यस्तो व्यवस्था गर्न सकेको छैन । यसले साना उमेरका बालकको मानसिकतामा नकारात्मक असर पार्ने र उनीहरूलाई उल्टै कठोर वातावरणमा फसाउने खतरा बढेको अधिकारीले बताए ।

नेपाल प्रहरीका पूर्वडीएसपी रामजी कटुवालका अनुसार बालमनोविज्ञान बुझेर उमेरअनुसार छुट्टाछुट्टै राख्ने व्यवस्था नगरी सुधारको उद्देश्य पूरा गर्न सकिँदैन । ‘मुद्दाको फैसला भइसकेका र पुर्पक्षमा रहेकालाई समेत अलगअलग राखिनुपर्छ,’ उनले भने, ‘नत्र साना-साना विवाद पनि हिंसामा परिणत हुन सक्छन् ।’

फरक उमेर समूहकालाई एकै ठाउँमा र क्षमताभन्दा बढीलाई राख्ने गर्दा सुधारगृहमा बेलाबखत हिंसात्मक घटना हुने गरेको पूर्वडीएसपी कटुवालको भनाइ छ । बाल सुधारगृहको व्यवस्थापन गर्न नसक्नु र जुनसुकै अपराधमा संलग्न एवं उमेर समूहकालाई एकै ठाउँमा राख्नु राज्यको कमजोरी रहेको उनले बताए ।

पूर्वाञ्चल विश्वविद्यालयका मनोचिकित्सा विभागका प्रमुख डा. प्रभात चालिसे सुधारगृहमा बारम्बार तनाव सिर्जना हुनुमा व्यवस्थापकीय कमजोरी, भौतिक संरचनाको अभाव र अत्यधिक कठोर अनुशासन रहेको बताउँछन् । ‘सुधारगृहमा खेल मैदान, अध्ययन कक्ष, पुस्तकालयजस्ता आधारभूत सुविधा नै छैनन्,’ उनले भने, ‘जसले बालबालिकाको मानसिक स्वास्थ्यमा प्रतिकूल असर पार्छ ।’

मनोचिकित्सक डा. चालिसेका अनुसार सुधारगृहका कर्मचारीलाई किशोरावस्थाको मनोविज्ञान, द्वन्द्व समाधान र पुनर्स्थापनासम्बन्धी विशेष तालिम दिनुपर्ने हुन्छ । उनले कठोर नियम मात्र नभएर जिम्मेवारी दिने, निर्णय प्रक्रियामा सहभागी गराउने, सुझाव पेटिका राख्ने, नियमित स्वास्थ्य परीक्षण गर्ने र परिवारसँगको समन्वय बढाउने उपायहरू अपनाउनुपर्नेमा जोड दिए ।

यस्ता विभिन्न उपाय अपनाउँदा सुधारगृहमा तनाव एवं झडपको अवस्था सिर्जना हुन नपाउने डा. चालिसेको भनाइ छ । सुधारगृहको वास्तविक अवस्था कमजोर बन्दै गएको सरोकारवाला बताउँछन् ।

पूर्वडीएसपी कटुवालका अनुसार संस्थाले आफ्नो नामअनुसारको उद्देश्य गुमाएको छ । अहिलेको अवस्थामा ‘बाल सुधारगृह’ ‘कठोरगृह’मा परिणत भएको उनले बताए ।

भिडभाड, उमेर र सामाजिक पृष्ठभूमिमा ठूलो अन्तर, सुविधा र कार्यक्रम तथा कर्मचारीलाई तालिमको अभावले गर्दा सुधारको प्रयास सफल हुन नसकेको कटुवाल बताउँछन् । यसका लागि तत्काल क्षमता विस्तार, उमेरअनुसार छुट्टाछुट्टै राख्ने, मनोवैज्ञानिक परामर्शको पहुँच बढाउने, शैक्षिक तथा खेलकुदका कार्यक्रम सुरु गर्ने जस्ता ठोस कदम चाल्न आवश्यक रहेको उनको भनाइ छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बुधबारको घटनामा केहीबेर तनाव भए पनि समयमै सुरक्षात्मक कदम चालिएकाले ठूलो दुर्घटना निम्तिएन । सुरक्षा व्यवस्था प्रभावकारी र चुस्त बनाइएकाले बाल बिज्याइँकर्ता भाग्न नपाएको उनले बताए ।

सुधारगृहको कमजोर संरचना र व्यवस्थापनलाई मुख्य चुनौतीका रूपमा औंल्याउँदै प्रजिअ यदावले भने, ‘बाल बिज्याइँकर्ता भनिए पनि उनीहरूको उमेर बढिसकेको हुन्छ । तर, कानुनले उनीहरूलाई बालककै रूपमा व्यवहार गर्नुपर्ने हुँदा कैद सुधारगृहमै भुक्तान गर्नुपर्ने हुन्छ ।’ फरक उमेर र पृष्ठभूमिबाट आएका धेरै व्यक्ति एउटै ठाउँमा हुँदा सानो विवाद पनि ठूलो झडपमा परिणत हुने गरेको उनको अनुभव छ ।

यादव भन्छन्, ‘पछिल्लो झडपको घटना नयाँ होइन । यहाँ सामान्य खटपटमा पनि भिड जम्मा हुने र केहीको उक्साहटपछि धेरै जना आक्रामक बन्ने गरेका छन् ।’ उनले सुधारगृह प्रशासनसँगको छलफलपछि मनोवैज्ञानिक परामर्शको आवश्यकता रहेको निष्कर्ष निकालिएको बताए ।

यसबारे लिखित जानकारी पाएपछि जिल्ला सुरक्षा समितिले आवश्यक कदम चाल्ने र स्रोत व्यवस्थापनका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने तयारी भइरहेको उनले स्पष्ट पारे । सरकारले सुधारगृहको व्यवस्थापन संरचना परिवर्तन गर्न खोजे पनि समस्याको समाधान हुन सकेको छैन ।

चालु आर्थिक वर्षको साउन १ गतेदेखि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत सुधारगृह सञ्चालनमा आएको छ । सुरक्षाको जिम्मा जिल्ला सुरक्षा समितिको रहेको छ । तर, भौतिक संरचना, जनशक्ति र स्रोतको अभावका कारण पुरानै समस्याहरू निरन्तर दोहोरिँदै आएका छन् ।

अर्कोतर्फ उमेर पुगेकालाई राख्ने वैकल्पिक व्यवस्था तथा कानुनको अभाव हुँदा पनि समस्या निम्तिने गरेको छ । सुधारगृहको झडप १ दिनको कुरा मात्रै नभएर बारम्बार बल्झिरहने दीर्घकालीन समस्या हो । अपराधबाट टाढा राखेर समाजमा पुनर्स्थापित गर्ने लक्ष्यका साथ बाल बिज्याइँकर्तालाई बाल सुधारगृहमा राखिन्छ ।

तर, भिडभाड र अस्वस्थ वातावरणका कारण उनीहरू उल्टै अझ कठोर व्यवहार सिक्ने, ठूलो उमेरका बिज्याइँकर्ताबाट गलत आचरणको सिको गर्ने, गलत संगतमा फस्ने र सुधारको साटो अपराधमा डुब्ने खतरा बढेको सरोकारवाला बताउँछन् । यदि तत्काल ठोस सुधारात्मक कदम चालिएन भने बाल सुधारगृह नाम मात्रको भएर रहने पूर्वडीएसपी कटुवालको भनाइ छ ।

उनका अनुसार सुधारगृह व्यवस्थापको प्रभावकारी उपाय अवलम्बन नगरिएमा दिनदहाडै हुने झडप, विभिन्न विवाद र अपराध न्यूनीकरणमा कुनै योगदान पुग्ने देखिँदैन । गृहमा सुधार ल्याउनका लागि क्षमता विस्तार, उमेर र मुद्दाको अवस्थाअनुसार छुट्टाछुट्टै व्यवस्थापन, मानसिक स्वास्थ्यका लागि पेसेवर परामर्श सेवा, शैक्षिक अवसर, खेलकुद तथा सिर्जनात्मक क्रियाकलाप र कर्मचारीलाई विशेष तालिमजस्ता आधारभूत कदम अनिवार्य रहेको सरोकारवाला बताउँछन् ।

त्यस्तै, बाह्य सुरक्षामा सुधार ल्याएर निषेधित वस्तु भित्र छिराउन रोकिनु जरुरी रहेको उनीहरुको भनाइ छ । ‘प्रशासनिक जिम्मेवारी बहन गर्ने निकायले यो विषयलाई प्राथमिकतामा राखेर तत्काल कार्यान्वयन नगरेसम्म समस्या झन् चर्किन्छ,’ कटुवालले भने, ‘सुधारगृहभित्रका बाल बिज्याइँकर्ता, प्रहरी र कर्मचारी सबैको सुरक्षामा थप खतरा उत्पन्न हुनेछ ।’

यो अवस्था विराटनगरको समस्या मात्रै नभएर देशभरका अन्य सुधारगृहहरूको वास्तविकतासँग पनि मेल खाने पूर्वडीएसपी कटुवालले बताए । सुधारगृहको संरचना र व्यवस्थापन दुवैमा तत्काल सुधार नगरिए यसले भविष्यमा ठूलो संकट निम्त्याउने उनको भनाइ छ ।

विराटनगरको बाल सुधारगृहको अवस्था सामान्य, के के भयो क्षति ?

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×