विराटनगरको बाल सुधारगृहको अवस्था सामान्य, के के भयो क्षति ?

Share this
789shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ श्रावण २८, बुधबार १५:५३

विराटनगर । एक्कासि झडप भएर अवस्था तनावपूर्ण बनेको विराटनगरको बाल सुधारगृह सुरक्षा नियन्त्रणमा आएको छ ।

सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएर सुधारगृहको अवस्था सामान्य बनाएका हुन् । विराटनगर महानगरपालिका–३ मा रहेको सुधारगृहमा बुधबार दिउँसो १२ः४५ बजेतिर झडप भएको थियो । सुधारगृहमा रहेका बाल बिज्याइँकर्ताबीच दोहोरो झडप हुँदा अवस्था तनावग्रस्त बन्न पुग्यो ।

उनीहरुबीच के कारणले झडप भएको हो भनेर यकिन छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । कानुनको विवादमा परेका बाल बिज्याइँकर्ता बालकहरुबीच भएको झडप छुट्याउने क्रममा नेपाल प्रहरीका असई (प्रहरी सहायक निरीक्षक) र वरिष्ठ हवल्दार घाइते भएका छन् ।

सम्झाइबुझाइ गर्ने क्रममा झडपमा उत्रिएका बाल बिज्याइँकर्ताहरुले प्रहरीलाई नै आक्रमण गरेका थिए । आक्रमणबाट सुधारगृहको सुरक्षार्थ खटिएका असई शम्भु चौधरी र वरिष्ठ हवल्दार हिरणकुमार मण्डल घाइते भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए ।

असई चौधरीलाई सामान्य चोट लागेको छ । टाउकोमा चोट लागेका वरिष्ठ हवल्दार मण्डलको कोशी अस्पतालमा उपचार भइरहेको छ । तर, अवस्था सामान्य छ ।

सुधारगृहमा दोहोरो झडप भएको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी हस्तबहादुर सुनार नेतृत्वको टोली घटनास्थल पुगेको थियो । वडा प्रहरी कार्यालय विराटनगरलगायतका विभिन्न प्रहरी युनिटबाट पनि प्रहरी परिचालन गरिएको थियो ।

सुधारगृहमा परिचालित प्रहरीले सुधारगृहलाई आफ्नो नियन्त्रणमा लिएर अवस्था सामान्य बनाएको एसपी चिमरियाले बताए । उनका अनुसार झडप सुरु हुनसाथ १२०–१३० जनाजति बाल बिज्याइँकर्ताहरु मुख्य गेट तोडेर बाहिर निस्किएका थिए ।

बाहिर निस्किएर भाग्न खोजेकाहरुलाई सुधारगृहमा खटिएको प्रहरी टोलीले घेरा हालेर सुधारगृहभित्रै पुर्याएको थियो । बेलैमा अपनाएको सुरक्षा सावधानीका कारण बाल बिज्याइँकर्ताहरु भाग्न भने नपाएको र सुधारगृहको अवस्था सामान्य भइसकेको मोरङ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

‘झडपका कारण केहीबेर तनावपूर्ण स्थिति उत्पन्न भएको थियो । तर, अहिले अवस्था शान्त भइसकेको छ । थप अवाञ्छित गतिविधि हुने सम्भावना छैन । सुधारगृह अहिले सुरक्षा नियन्त्रणमा आइसकेको छ,’ प्रजिअ यादवले भने । घटनाको जानकारी पाउनसाथ प्रजिअ यादव, एसपी चिमरियालगायतका सुरक्षा अधिकारीहरु सुधारगृहमा पुगेर त्यहाँको अवस्था सामान्य बनाउन भूमिका खेलेका थिए ।

सुधारगृहको क्षमता ५० जनाको हो । हाल २ सय ४९ जना बाल बिज्याइँकर्तालाई राखिएको छ । गणना गर्दा सबै जना सुधारगृहभित्रै रहेको र कसैले पनि भाग्ने मौका नपाएको प्रजिअ यादवले बताए ।

झडपमा उत्रिएका बाल बिज्याइँकर्ताले तोडफोड गरेर सुधारगृहभित्र क्षति पुर्याएका छन् । तोडफोडबाट सुधारगृहको मेष भवन, सुरक्षा ब्यारेक, कार्यालयको कोठा, झ्यालको सिसा, कुर्सीहरु लगायतमा क्षति पुगेको छ । कति मूल्य बराबरको क्षति पुग्यो भनेर यकिन भइसकेको छैन । क्षतिको विवरण संकलनको काम भइरहेको छ ।

विभिन्न अपराधमा संलग्न भएका १८ वर्षमुनिका बालबालिकालाई अदालतको आदेश र फैसला अनुसार सुधारगृहमा राख्ने गरिएको छ । अदालतले पुर्पक्षका लागि थुनामा पठाएका र कसुरदार ठहर गरेका बालकहरुलाई त्यहाँ राख्ने गरिएको हो ।

तर, सुधारगृहमा १८ वर्षभन्दा माथिका पनि धेरै जना छन् । १८ वर्ष तलको हुँदा दोषी ठहर भएकाहरुलाई त्यो भन्दा बढी उमेर भइसक्दा पनि कानुन र वैकल्पिक व्यवस्थाको अभावमा सुधारगृहमै राख्ने गरिन्छ ।

त्यसरी राखिएका बाल बिज्याइँकर्ताबीच बेला–बेला विवाद र झडप हुने गरेको हो । झडपले सुधारगृहको अवस्था अशान्त बन्ने गरेको छ । सुरक्षामा खटिएका प्रहरी र कर्मचारीलाई झुक्याएर बाल बिज्याइँकर्ताहरु फरार पनि हुने गरेका छन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×