‘समाज र पत्रकारिताप्रति समर्पित’

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र ३, मंगलबार १६:५६

मुलुकी सञ्चार नेटवर्क प्रा.लिले कोशी प्रदेशको विराटनगरबाट सुरु गरेको मुलुकी खबर डटकम अनलाइन आज (भदौ ३ गते)बाट दोस्रो वर्षमा प्रवेश गरेको छ । यो छोटो यात्रामा जित्न सकेको विश्वास र पाठकसँगको सम्बन्ध हाम्रा लागि विशेष गर्व गर्ने आधार हुन् । यसलाई हामीले विशेष र महत्वपूर्ण जिम्मेवारीका रूपमा पनि लिएका छौं ।

मुलुकी संहिता आएकै महिना अर्थात् भदौमा हामीले अनलाइन सुरु गरेका हौ । संहिता आएकै महिना अनलाइन सुरुवात गर्नु संयोग हैन । समाजमा न्याय र कानुनको पहुँचबारे सचेतना जगाउने, अपराध र अन्यायका घटनालाई सतहमा ल्याउने तथा पाठकलाई सत्य समाचार पस्किने हाम्रो उद्देश्य हो ।

नेपालमा अपराध र कानुनका विषयवस्तु प्रायः सतही रूपमा मात्र प्रस्तुत हुन्छन् । तर, यी संवेदनशील विषयवस्तुलाई गम्भीरताका साथ उजागर गर्ने निर्णय हामीले लियौं । यो १ वर्षको अवधिमा हामीले धेरै प्रयासहरु गरेका छौं । अझै धेरै काम त गर्न बाँकी नै छ ।

घटनाको रिपोर्टिङ मात्रै नभएर त्यसका कारण कानुनी प्रक्रियामा आएको कमजोरी, अदालतको भूमिका र समाजमा परेको प्रभाव पनि समेट्ने हाम्रो अभ्यास हो । प्रहरीको अनुसन्धान, अपराध नियन्त्रण तथा अदालतको आदेश र फैसलासँग सम्बन्धित समाचार मात्रै नभएर पीडितको कथा, वकिल र विज्ञको विश्लेषण एवं समाजमा हुने बहसलाई पनि स्थान दिनुपर्छ भन्ने मान्यतामा हामी अडिग छौं । अपराध र कानुनसँग जोडिएका घटनालाई उजागर गर्नुका साथै मुलुकी खबरले जनचेतना जगाउने माध्यमको रूपमा आफूलाई स्थापित गर्ने प्रयास गरिरहेको छ ।

यद्यपि, अपराध र कानुन मात्रै हाम्रो लक्ष्य होइन । समाज बहुआयामिक हुन्छ र पाठकलाई सम्पूर्ण जानकारीको आवश्यकता हुन्छ । त्यसैले हामीले पहिलो वर्षमै राजनीति, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, संस्कृति र खेलकुदजस्ता समाजसँग जोडिएका हरेक विषयलाई नियमित रूपमा समेट्ने प्रयास गरेका छौं ।

संघीयतापछि स्थानीय तहदेखि केन्द्रसम्मका निर्णय, राजनीतिक दलभित्रको उतारचढाव, बजेटको कार्यान्वयन र जनतामा परेको प्रभावलाई निरन्तर विश्लेषण गर्दै प्रस्तुत गरिरहेका छौं । विशेष गरी विराटनगर र कोशी प्रदेशका मुद्दा, तराई–मधेशदेखि हिमालसम्मका आवाजलाई पस्कने प्रयास निरन्तर जारी छ ।

अनलाइन पत्रकारिता आज समाचार प्रकाशन गर्ने माध्यम मात्रै होइन । यो तथ्य र जानकारीको लोकतन्त्र हो । सामाजिक सञ्जालको तेज गतिमा जानकारी फैलिँदै गर्दा सत्य र गलत छुट्याउन चुनौती हुन्छ । यसबीच मुलुकी खबरले पुष्टि नगरी कुनै समाचार प्रकाशन नगर्ने, अफवाह र अपुष्ट दाबीलाई स्थान नदिने नीतिलाई कडाइका साथ पालन गरिरहेको छ ।

समाचार सन्तुलित हुनुपर्छ, आरोप र प्रत्यारोप दुवै पक्षलाई स्थान दिनुपर्छ र पीडितलाई सम्मानजनक ढंगले प्रस्तुत गर्नुपर्छ भन्ने मुलुकी खबरको नीति नै हो । यही कारणले पाठकले हामीमाथि भरोसा गर्छन् । आगामी दिनमा भरोसा बढाउने हाम्रो योजना हुने छ ।

अर्कोतर्फ विश्वमा सञ्चार र प्राविधिले तीव्र फड्को मारिरहेको छ । त्यहीबीचमा पत्रकारिता जोगाउँदै र समाजप्रति प्रतिबद्ध हुँदै अघि बढ्नुपर्ने चुनौती हामीसामु हुनु स्वभाविक हो । विभिन्न माध्यमबाट आम नागरिकलाई सूचना दिनु हाम्रो कर्तव्य र दायित्व पनि हो । त्यही भएर हामी आगामी दिनमा विशेष ढंगले प्रस्तुत हुने तयारी गरिरहेको जानकारी गराउन चाहन्छौं ।

हामी दोस्रो वर्षमा प्रवेश गर्दैगर्दा हाम्रो यात्रा अझ जिम्मेवार र चुनौतीपूर्ण हुँदै गएको छ । अपराध र कानुन र विविध विषयको अनुसन्धानमूलक पत्रकारितालाई अझ प्रगाढ बनाउने हाम्रो योजना छ । घटना रिपोर्टिङ मात्रै भन्दा पनि अपराध अनुसन्धानमा देखिएका कमजोरी र सुधारका सम्भावनासँग सम्बन्धित गहन रिपोर्ट ल्याउने हाम्रो लक्ष्य छ ।

राजनीति र शासनसँग सम्बन्धित समाचारलाई अझ विश्लेषणात्मक र तथ्यपूर्ण ढंगले प्रस्तुत गर्ने हाम्रो प्रतिबद्धता छ । सरकारका नीतिहरू कत्तिको प्रभावकारी छन्, बजेट कहाँ खर्च भयो, स्थानीय तहले प्रत्यक्ष जनतालाई दिने सेवा कस्तो छ लगायतका प्रश्नको उत्तर खोज्न हामी निरन्तर सक्रिय हुनेछौं ।

प्रविधि र प्रस्तुतीकरणमा पनि नयाँपन ल्याउने हाम्रो योजना छ । लेख मात्र नभएर भिडियो, फोटो फिचर, इन्फोग्राफिक्स र बहस–संवादमार्फत पाठकसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने हाम्रो लक्ष्य छ । मुलुकी खबर समाचार पढ्ने अनलाइन मात्रै नभएर विश्लेषण र छलफल गर्ने तथा समाधान खोज्ने डिजिटल प्लेटफर्म बन्न चाहन्छ ।

पत्रकारिता सूचना दिने पेसा मात्रै हैन । यो समाजलाई सचेत बनाउने र परिवर्तनतर्फ प्रेरित गर्ने माध्यम हो । पहिलो वर्षमै हामीले यसलाई आत्मसात् गरेका छौं । भ्रष्टाचार, अनियमितता, अन्याय र पीडितको पक्षमा आवाज उठाउने काममा हामी निरन्तर सक्रिय भयौं । यस्ता कदमहरूले कहिलेकाहीं चुनौती र दबाब पनि दिए । तर, हामी डगमगाएनौं । डगमगाउने छैनौं ।

सत्य, तथ्य र निष्पक्षतामा अडिग रहनु, न्यायका लागि आवाज उठाउनु र भ्रष्टाचार, अन्याय र अपराधविरुद्ध कलम चलाउनु नै हाम्रो मूल लक्ष्य हो । दोस्रो वर्षमा प्रवेश गर्दै हामी फेरि एकपटक प्रतिबद्धता व्यक्त गर्छौं, ‘मुलुकी खबर सधैं सत्य, निष्पक्षता र जिम्मेवारीपूर्ण पत्रकारितामा अडिग रहनेछ । कमजोर र उपेक्षित आवाजलाई प्राथमिकता दिनेछ । नागरिकको अधिकार कुण्ठित गर्ने वा न्याय ढाकछोप गर्ने जो कोहीविरुद्ध प्रश्न गर्नेछ । हाम्रो कलम र दृष्टिकोण सधैं सार्वजनिक सरोकारमा केन्द्रित हुनेछ ।’

मुलुकी खबरको यात्रा पाठकको विश्वास र सहयोग बिना सम्भव थिएन । सम्पूर्ण पाठक, स्रोत, विज्ञ, विज्ञापनदाता र शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं । तपाईंहरूको समर्थन र विश्वासकै कारण आज हामी दोस्रो वर्षमा प्रवेश गर्न सफल भएका छौं । आगामी दिनमा अझ प्रगाढ जिम्मेवारी, विस्तृत सामग्री र नवीन शैलीसहित तपाईंहरूमाझ उपस्थिति जनाउने हाम्रो वाचा छ ।

दोस्रो वर्षको अवसरमा हामी सबैलाई सत्य, न्याय र जिम्मेवार पत्रकारिताको साझा यात्रामा स्वागत गर्न चाहन्छौं । समाजको कमजोर पक्षलाई उजागर गर्ने, अपराध र अन्यायविरुद्ध आवाज उठाउने एवं कानुन, न्याय तथा नागरिक अधिकारबारे जनचेतना फैलाउने मुलुकी खबरको मूल उद्देश्य यथावत् छ ।

यही मार्गदर्शनमा हामीले दोस्रो वर्षको यात्रा सुरु गरेका छौं र आगामी दिनमा अझ बलियो, जिम्मेवार र विश्लेषणमूलक पत्रकारितासहित पाठक–दर्शकसँग जोडिने लक्ष्य राखेका छौं । हामी समाज र पत्रकारिताप्रति समर्पित छौं ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.