जेनजीको विद्रोह र ओली सरकारको पतन

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र २४, मंगलबार १५:०१

देशभरि फैलिएको जेनजी आन्दोलनले नेपालको राजनीतिक आकाश नै हल्लाइदिएको छ । जेनजी समूह लामै समयदेखि राजनीतिक दलका गतिविधिविरुद्ध आवाज उठाइरहेको थियो ।

भ्रष्टाचार, सामाजिक विकृति, सुशासनको अभावजस्ता विषयको खुलेर विरोधमा उत्रिएकाे यो समूह सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लिएपछि सडकमै निस्कियो । स्वतस्फूर्त रुपमा सडकमा उठेका युवा (सन् १९९७–२०१० भित्र जन्मेका) जेनजीले २ दिनमै मुलुकमा नयाँ तरंग ल्याइदिएका छन् ।

सरकारले समयमै उनीहरूको आवाज सुन्न वा व्यवस्थापन गर्न नसकेको वा नचाहेको परिणाम हो यो । शान्तिपूर्ण बाटोबाट आन्दोलनले हिंसात्मक मोड लियो । अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ भने ४ सयभन्दा बढी घाइते भएका छन् । यो संख्यात्मक क्षति मात्र नभएर लोकतन्त्र, सुशासन र मानवीय संवेदनामाथिको धक्का हो ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले नयाँ पुस्ताको चेतना र मागलाई निरन्तर अवमूल्यन गर्यो । उनी र उनका सत्तासाझेदारहरूले आफ्नो राजनीतिक लाभ र सत्ता संरक्षणको लागि नयाँ पुस्ताको भावना बुझ्न चाहेनन् । अहिले आएर प्रधानमन्त्री ओलीले राजीनामा दिइसकेका छन् ।

भ्रष्टाचार, नालायकी, प्रशासनिक अकर्मण्यता र संवेदनशीलताको कमीले युवा आक्रोशलाई झन् बलियो बनायो । आफू नेतृत्वको सरकारको वैधता समाप्त भएपछि प्रधानमन्त्री ओलीले पदबाटै राजीनामा दिइसकेका छन् ।

जेनजीले राखेका माग सामान्य र असामान्य होइनन् । उनीहरूले सुशासन, पारदर्शिता, जवाफदेहिता, सामाजिक सञ्जालमा स्वतन्त्रता र भ्रष्टाचार नियन्त्रणको माग गरेका थिए । यस्ता माग आधुनिक लोकतान्त्रिक समाजमा आधारभूत अधिकारका रुपमा मानिन्छन् । तर, सरकारले संवेदनशीलता नदेखाएर आन्दोलनले हिंसात्मक मोड लिँदा मुलुकको भविष्य नै अनिश्चित बन्न पुगेको छ ।

नेपालको इतिहासमा शान्तिपूर्ण आन्दोलनमा सर्वाधिक जनधनको क्षति भएको यो नै पहिलो हो । मुलुकले यो अवस्था भोग्नुमा शासकको भूमिकामा रहेका ओली मात्रै होइन अन्य राजनीतिक दलका शीर्ष नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेता पनि बढी जिम्मेवार छन् । उनीहरु जिम्मेवारीपूर्ण कदम चाल्न असफल भएकै हुन् ।

२०६६२–२०६३ को परिवर्तनपछि नेपाली राजनीति र प्रशासनमा उनीहरूले देखाएको अकर्मण्यता तथा नालायकीले देशलाई संकटको स्थितिमा पुर्याएको छ । अहिलेको आन्दोलनको जटिल परिस्थितिमा मुलुकलाई कसरी अघि बढाउन सकिन्छ भनेर उनीहरुबीच सहकार्य पनि भएन । सरकारले आफ्नो अहंकार देखाउँदा र अरु नेताले बेवास्ता गर्दा मुलुकको अवस्था जर्जर बन्यो ।

सरकारको नीति, संयमता र संवेदनशीलतामा देखिएको कमजोरी यस घटनाको मुख्य कारण हो । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले मात्र युवा आक्रोशलाई सडकमा ल्याइदिएको हो । तर, जेनजीको असन्तुष्टि त्यतिमै सीमित थिएन ।

सरकारको कठोर कदमले उनीहरूको क्रोधलाई ह्वात्तै बढाइदिएको मात्रै हो । अब प्रधानमन्त्रीले नै राजीनामा दिएपछि देश नेतृत्वविहीन बन्यो । स्वच्छ, जवाफदेही, पारदर्शी र संवेदनशील नेतृत्वको खोजीमा जेनजी युवाले आन्दोलन चर्काउँदा मुलुक तहसनहस बन्न पुग्यो ।

सरकार र राजनीतिक दलप्रति नागरिकहरूको भरोसा घट्दै गएको थियो । तर, दलका शीर्ष नेताहरुले त्यो कुरा बुझ्न सकेनन् । जेनजीको आक्रोश ओली सरकारविरुद्ध मात्रै नभएर पुराना दलहरुप्रति पनि केन्द्रित थियो ।

देशमा अब जिम्मेवार, संवेदनशील र नयाँ दृष्टिकोण राख्ने नेतृत्वको आवश्यकता छ । नागरिक सरकार, प्रबुद्ध नागरिक र युवाको सहभागितामा आधारित अन्तरिम सरकार आवश्यक छ । यसले मात्र आगामी चुनावका लागि मार्ग खुला राख्न सक्छ र जेनजीको मागलाई लोकतान्त्रिक एवं कानुनी रूपमा सम्बोधन गर्न सक्छ ।

नेपाली राजनीतिको वर्तमान अवस्था हेर्दा पुराना दलहरू अलोकप्रिय भइसकेका छन् । नागरिकहरूको भरोसा घट्दै गएको छ । सत्तामा बसेकाहरूले आफ्नो अलोकप्रियता महसुस गरेका थिएनन् । विगतको अकर्मण्यता र नालायकीले अहिलेको संकट निम्त्याएको हो । सरकारले संवेदनशील, पूर्वनियोजित र जिम्मेवार कदम चाल्न नसक्दा देश संकटमा डुब्यो ।

जेनजीको आन्दोलनले भ्रष्टाचारको अन्त्य, सामाजिक विकृति रोकथाम र सामाजिक सञ्जालमा स्वतन्त्रता खोज्दा सरकार संवेदनशील हुन सकेन । जसका कारण आन्दोनलले अवस्था भयावह बनायो ।

प्रधानमन्त्रीको राजीनामा दिइसकेको अवस्थामा अब जिम्मेवार अन्तरिम नेतृत्व र लोकतान्त्रिक प्रक्रियाबाट नयाँ नेतृत्वको चयन आवश्यक छ । जेनजीको आन्दोलनले देशलाई नयाँ दिशा देखाएको छ । यो आक्रोश, चेतना र सक्रियतालाई नेपाली समाजले नयाँ अवसरका रूपमा लिनुपर्छ ।

नेपाली युवाको शक्ति अब प्रतीक्षारत छैन भन्ने उदाहरण यो आन्दोलन हो । उनीहरूले देखाएको जागरुकता र सक्रियता नेतृत्व चयनको आधार बन्नेतर्फ केन्द्रित थियो । पुराना नेतृत्व अब इतिहासको पानामा विलीन भइसकेजस्तो देखिन्छ । लोकतन्त्रको रक्षा गर्ने, नागरिकको आवाज सुन्ने, पारदर्शिता र जवाफदेहिता कायम गर्ने नेतृत्व अब देशको आवश्यकता हो । जेनजी आन्दोलनको नैतिक र राजनीतिक आवश्यकता पनि त्यही थियो ।

ओली नेतृत्वको पतन भइसकेपछि देशका लागि अबको चुनौती जेनजीको आवाजलाई संविधान, लोकतन्त्र र संवेदनशील नेतृत्वमा परिणत गर्ने हो । नेपालको इतिहासमा यो आन्दोलन सडक प्रदर्शन मात्रै नभएर सत्ता र जिम्मेवारीको पुनर्मूल्यांकनको बेला हो ।

अब नागरिक सरकार, युवाको नेतृत्व र जिम्मेवार प्रशासनको संयोजनले मात्र देशलाई नयाँ मार्गमा लैजान सक्छ । त्यही भएर जेनजीको प्रतिनिधित्वसहित अन्तरिम सरकार गठनतिर मुलुक अघि बढ्नुपर्छ । त्यसका लागि नेतृत्व लिन कोही तयार हुनुपर्छ ।

नेपालले अब युवासँग संवेदनशील, पारदर्शी र जवाफदेह सरकार खोजिरहेको छ । भ्रष्टाचार, विकृति र प्रशासनिक कमजोरीलाई अन्त्य गर्दै देशलाई सही दिशा दिनतर्फ केन्द्रित हुनुपर्ने यो आन्दोलन नयाँ नेपाल आगमनको संकेत पनि हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.