
विराटनगर । जेनजी युवाहरुको आन्दोलनका क्रममा अराजक समूहको निसानामा विराटनगरको कोइराला निवास पर्यो । डाक्टर शेखर कोइरालाको रिसले निवासमा अराजक समूहले आगजनी गर्दा नेपालको राजनीतिक धरोहर कोइराला निवास जलेर खरानी भएको छ ।
अराजक समूहले कोइराला निवासको भौतिक संरचनालाई मात्रै क्षति पुर्याएन । नेपालको राजनीतिक चेतना र शिक्षाको उद्गम स्थलको इतिहाससमेत नष्ट गरेको छ ।
कृष्णप्रसाद कोइरालाले निर्माण गरेको उक्त घर नेपालको प्रजातान्त्रिक आन्दोलनको साक्षी त थियो नै । देशलाई ३ जना प्रधानमन्त्री पनि दिएको थियो । कृष्णप्रसादका छोरा मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेका थिए ।

राणा शासन फालेको यो घर राजा फाल्ने आन्दोलनमा पनि सक्रिय थियो । कांग्रेस कार्यकर्ताहरूका लागि कोइराला निवास तीर्थस्थल सरह थियो । जहाँ विराटनगर आउने जो कोही पनि राजनीतिक चेतना बोकेका व्यक्ति एकपटक पुग्न चाहन्थे ।
कोइराला निवास जल्ला कांग्रेस नेतृ विजयता अधिकारीको आँखा ओभाएका छैनन् । ‘यो हाम्रो राष्ट्रका लागि धरोहर थियो । आँखै अगाडि जल्यो । तर, केही गर्न सकिएन । प्रहरी र दमकल बोलाउँदा पनि आएनन्,’ उनले भनिन् ।
विराटनगर महानगरपालिकाकी पूर्वउपमेयर इन्दिरा कार्की कोइराला निवासलाई मन्दिर जस्तै मान्छिन् । ‘आम नेपालीले श्रद्धापूर्वक हेर्ने ठाउँ हो कोइराला निवास । नेपालमा भएका परिवर्तनको साक्षी थियो,’ उनी भन्छिन् ।

कांग्रेस नेताहरूका अनुसार १२० वर्षभन्दा पुरानो उक्त घर राणा शासनविरुद्ध कृष्णप्रसाद कोइरालाले बिगुल फुकेदेखि नै धेरै राजनीतिक आन्दोलन र पार्टीका महत्वपूर्ण निर्णयहरूको केन्द्र बनेको थियो । पूर्वप्रधानमन्त्री मातृका, बीपी, र गिरिजाप्रसाद कोइरालाको राजनीतिक चेत र आन्दोलन पनि यहीँ घरबाट हुर्किएको थियो ।
कृष्णप्रसाद कोइरालाले बनाएको मूल घर सानो भएपछि २०१४ सालको कांग्रेसको विशेष महाधिवेशनअघि केशव कोइरालाले उत्तरतर्फ २ वटा कोठा थपेका थिए । निर्वासित जीवनबाट मेलमिलापको नीति लिएर बीपी कोइराला फर्किएपछि २०३४ सालमा पनि उत्तरतर्फ २ वटा पक्की कोठा थपिएको थियो । त्यसपछि २०५२ सालतिर गिरिजाप्रसाद कोइरालाले अर्को कोठा थप गरेका थिए ।

अराजक समूहले लगाएको आगोले कृष्णप्रसादले बनाएको मूल घर खण्डहर भएको छ । यद्यपि, बीपी र गिरिजाका लागि बनाएको पछिल्लो संरचना भने बाँकी रहेको छ । तर, भित्र सबै सामग्री जलेका छन् ।
कोइराला परिवारमा अंशबन्डा हुँदा राजनीतिक विरासत बोकेको उक्त घर डाक्टर शेखर कोइरालाको भागमा परेको थियो । उनी अहिले यसको पुनर्निर्माणको तयारीमा छन् । गिरिजाप्रसाद कोइरालाले थप गरेको संरचनाको पुनर्निर्माणका लागि कामदार खटिएका छन् ।


























