
नेपाली समाजमा बडादसैँ पर्वको विशेष महत्व छ । यो पर्व मात्रै होइन्, नेपाली समाज र सामाजिक सम्बन्धहरुलाई जीवन्त राख्ने आधार पनि हो ।
दसैँ, तिहार, नेपाल सम्वत तथा छठ पर्व नेपालीहरूको लागि विशेष महत्व राख्ने महान् चाडपर्व हुन् । यी पर्वहरूले हामी सबैमा नयाँ उमंग, उत्साह र खुसीयाली ल्याउँछन् । पारिवारिक मिलन, आफन्तहरूसँगको भेटघाट र मिठो परिकारले चाडपर्वलाई अझ विशेष बनाउँछ । विजय दशमी, असत्यमाथि सत्यको विजयको प्रतीक हो ।
मान्यजनबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने चलन छ, जसले परिवारका सदस्यहरूबीचको आत्मीयतालाई अझ मजबुत बनाउँछ । टाढाटाढा रहेका परिवारका सदस्यहरू पनि यस अवसरमा घर फर्कने गर्दछन्, जसले घरपरिवारमा खुसीको माहोल छाउँछ ।
दीपावली वा तिहार, दीपहरूको पर्व हो । यस पर्वमा लक्ष्मी पूजा, गाई पूजा, कुकुर पूजा, काग पूजा र भाइटीका जस्ता विभिन्न विशेषताहरू छन् । घरघरमा झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ, जसले धनधान्य र समृद्धिको कामना गर्दछ । भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीचको पवित्र सम्बन्धलाई अझ प्रगाढ बनाउँछ ।
देउसी–भैलो खेल्दै आशीष दिने र लिने परम्पराले सामाजिक सद्भाव बढाउँछ । चाडपर्वको बेलामा खानपानमा विशेष ध्यान दिनु अत्यन्त आवश्यक छ । धेरै चिल्लो, पिरो र मसालेदार खानेकुराले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।
त्यसैले खानपानमा विशेष ध्यान दिनुपर्छ । सरसफाइमा पनि ध्यान दिनु जरुरी छ । सफा वातावरणले मनलाई पनि शान्त र प्रसन्न बनाउँछ । चाडपर्वको अवसरमा कतिपय जुवा तास जस्ता नकारात्मक कार्यमा संलग्न हुने गर्दछन् । यस्ता गतिविधिले व्यक्तिगत तथा पारिवारिक जीवनमा समस्या उत्पन्न गराउन सक्छ ।
आर्थिक नोक्सानीसँगै मानसिक तनाव पनि बढ्छ, जसले चाडपर्वको खुसीलाई ग्रहण लगाउन सक्छ । जुवा तासको सट्टा परिवारसँग समय बिताउनु, साथीभाईसँगको भेटघाटमा समय बिताउनु र सामाजिक कार्यमा सहभागी हुनु बढी लाभदायक हुन्छ । यसले सम्बन्धहरूलाई मजबुत बनाउँछ, दिगो खुसी पनि प्रदान गर्छ ।
पर्वहरूले हामीलाई सामाजिक एकता र सहिष्णुताको पाठ सिकाउँछन् । चाडपर्वलाई सुरक्षित, स्वस्थ र खुसीका साथ मनाऔँ । अनावश्यक खर्चबाट बचौँ र समाजमा सकारात्मक सन्देश फैलाऔँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी, हत्या र लुटपाट जस्ता घटनाले देशलाई नै शोकमा डुबाएको कारण यो वर्षको दसैँमा विगतको जस्तो रौनक देखिएको छैन ।
समाजमा एक खालको त्रास र अन्योलता छ । त्यसैले सतर्कतासहित चाडपर्व मनाउनु उपयुक्त हुन्छ । यस वर्षको दसैँ र दीपावलीले राज्य र नागरिक जीवनमा हर्षोल्लास ल्याओस्, मुलुकी सञ्चार नेटवर्क एवं मुलुकी खबर परिवारको तर्फबाट हाम्रा पाठक, दर्शक, शुभचिन्तक, विज्ञापनदाता एवं देश तथा विदेशमा रहनु हुने नेपाली जनमा मंगलमय शुभकामना ।

























