
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले घरेलु टिम ओमानविरुद्ध ३८ रनको जित निकालेको छ ।
जितसँगै सुपर–६ को शीर्ष स्थानमा उक्लिएको नेपालले आठ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा रहेको ओमानसँग ६ अंक छ ।
नेपालले अब प्रतियोगिता उपाधिका लागि शुक्रबार समोअविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समाेअ तुलनात्मक रुपमा नेपाल भन्दा कमजोर टाेली हाे ।
बुधबार ओमानको अल अमेरतमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११३ रनमात्र बनाउन सक्यो ।
नेपालले यसअघि सुपर–६ को पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध एक रनको र कतारविरुद्ध पाँच रनको जित निकालेको थियो ।
नेपालले समूह चरणमा कुवेतविरुद्ध ५८ रनको र जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
नेपालले छनोटअन्तर्गत सुपर–६ को दुई खेल अगावै आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान बनाइसकेको थियो । नेपालले समग्रमा तेस्रो पटक टी–२० विश्वकपको टिकट काटेको हो । यसअघि नेपालले सन् २०१४ र २०२४ मा टी–२० विश्वकप खेलेको थियो ।
नेपालसँग पराजित ओमानले पनि विश्वकपमा स्थान सुनिश्चित गरिसकेको छ ।

























