
विराटनगर । विराटनगर लेडिज सर्कलले ‘स्तन क्यान्सर’ सम्बन्धी सचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ ।
बिहीबार विराटनगरमा लेडिज सर्कलले ‘स्तन क्यान्सर’ का बारे सचेतना मूलक कार्यक्रम गरेको हो ।
‘स्तन क्यान्सर बुझ्दै, मौनता तोड्दै’ र ‘बोलौं, काम गरौं, जीवन बचाऔं’ भन्ने नाराका साथ महिलामाझ जागरूकता फैलाउने उद्देश्य कार्यक्रम गरेको थियो।

क्यान्सर सर्भाइभरहरूले आफ्ना अनुभव र संघर्षका कथा सुनाउँदै उच्च मनोबल र सकारात्मक सोचका साथ रोगसँग लड्न सकिने बताएका थिए ।
उनीहरुले क्यान्सर हुने वित्तिकै नआत्ति उच्च मनोबलका साथ परिस्थितिसँग लड्न सके रोगलाई जित्न सक्ने बताए । पहिलो त रोग लाग्नै दिन हुँदैन ।
त्यसका लागि नियमित रुपमा डाक्टरले भने अनुसार आफैंले घरमा स्तनको परीक्षण गर्ने । आफैंले परीक्षण गर्दा शंका लागे डाक्टर कहाँ जाने स्वास्थ्य परीक्षण गरे रोगलाई जित्न सकिने उनीहरुले बताए ।

कार्यक्रममा विराटनगर लेडिज सर्कलकी अध्यक्ष कुसुम लुनियाँले अहिले महिलाहरुमा स्तन क्यान्सरको समस्या बढ्दो रुपमा देखा पर्न थालेको बताइन् ।
उनले महिलाहरुमा हुने स्तन क्यान्सरको न्यूनीकरण गर्नका लागि यसबारे सचेतना फैलाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताइन् । लुनियाँले स्तन क्यान्सरबारे खुलेर बोल्न र नियमित परीक्षणको अभ्यास सुरु गर्न सबै महिलालाई आवहान गरेकी छन्।

स्तन क्यान्सरबाट बच्न सबैले नियमित रुपमा स्वास्थ्य परीक्षण गराउनु पर्ने डा. मोना प्रियदर्शनीले बताइन् । उनले हिम्मत जुटाएरै क्यान्सर जित्न सफल भएका कैयौं महिलाहरु रहेको सुनाइन् ।

आफूलाई वा कसैलाई क्यान्सरको शंका लागेमा चिकित्सक जाने र सल्लाह लिएर समयमै उपचार गर्न सके निको हुने डा. प्रियदर्शनीले बताइन् । उनले बिरामीलाई घरपरिवार, साथीभाइलगायतले आत्मबल बढाइ दिने हो भने उनीहरुमा आत्मबल बढ्ने र रोगसँग लड्ने क्षमताको विकास हुनेछ ।
डा. प्रियदर्शनीले १५ वर्ष मुनिका किशोरीहरुलाई लगाउने क्यान्सरविरुद्धको भ्याक्सिनको फाइदा बारेमा बताइन् ।



















