
मुस्ताङ। दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ। यसै क्रममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान जोमसोम आइपुग्न थालेका छन्।
डोल्पाका व्यापारी शेरबहादुर रोकाया आफ्ना पाँच सहकर्मीसहित करिब एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा लिएर शनिबार साँझ जोमसोम आइपुगेका छन्। उपल्लो मुस्ताङबाट समेत शनिबारसम्म भेडाच्याङ्ग्रा जोमसोम आइपुग्ने बताइएको छ।
डोल्पाबाट जोमसोम आइपुग्न रोकायाको टोलीलाई एक साताभन्दा बढी समय लागेको छ। डोल्पो बुद्ध गाउँपालिकाबाट असोज ९ गते जोमसोमतर्फ प्रस्थान गरेको टोली असोज १७ गते साँझ जोमसोम आइपुगेको हो। अहिले भेडाच्याङ्ग्रा घरपझोङ गाउँपालिकास्थित सार्वजनिक मैदानमा राखिएका छन्।
विगत ३० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका रोकायाले यसपटक हिउँ छिचोल्दै जोखिमपूर्ण यात्रा गरेर च्याङ्ग्रा जोमसोम ल्याएको बताए। उनका अनुसार डोल्पाबाट मुस्ताङ आउने बाटोमा सेताम्मे हिउँ जमेको थियो। भारी वर्षा र हिमपातका कारण मुस्ताङ–डोल्पा जोड्ने पदमार्गमा यात्रा निकै कठिन भएको उनले बताए।
रोकायाले माथिल्लो डोल्पाका डोल्पो बुद्ध, शे–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकाका किसानबाट च्याङ्ग्रा खरिद गरेर जोमसोम ल्याएका हुन्। नेपाल–चीन सीमा क्षेत्रमा लाग्ने चोङ्ग्रा मेला बन्द भएकाले यसपटक डोल्पामै च्याङ्ग्रा खरिद गर्नुपरेको उनले बताए।
यस वर्ष डोल्पाबाट करिब आठ हजारभन्दा बढी भेडाच्याङ्ग्रा जोमसोम ल्याउने तयारी भइरहेको रोकायाले जानकारी दिए। गत वर्ष ११ हजारभन्दा बढी च्याङ्ग्रा डोल्पाबाट मुस्ताङ ल्याइएको थियो। गत वर्षको तुलनामा यस वर्ष डोल्पाबाट कम सङ्ख्यामा च्याङ्ग्रा जोमसोम झरिरहेका छन्।
गत वर्ष दसैँका बेला व्यापारमा आंशिक घाटा व्यहोरेका रोकायाले यसपटक च्याङ्ग्रामा ठूलो लगानी गरेको बताए। बाढीपहिरोका कारण सडक तथा पदमार्ग अवरुद्ध भए च्याङ्ग्रा पोखरा लैजान थप समस्या हुने उनको भनाइ छ।

























