तिहारको शुभकामना

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक ३, सोमबार १७:१२

नेपालको दोस्रो ठूलो पर्व तिहारलाई हिन्दु धर्मावलम्बीहरुले धुमधामसाथ मनाउँछन् । तिहार पर्व मात्रै नभएर जीवन दर्शन पनि हो । आत्मा, परिवार, प्रकृति र देवत्वबीचको सन्तुलनको उत्सव नै हो । उज्यालो र अन्धकार, पाप र पुन्य, जीवन र मृत्युबीचको द्वन्द्वलाई मिलाउने आध्यात्मिक मेललाई रूपमा पनि तिहारलाई लिइन्छ ।

अहिले प्रत्येक नेपालीको मनमा उज्यालो, माया र श्रद्धाको दीप झिलिमिली बनाउँदै फेरि तिहार आइपुगेको छ । वर्षभरिका दुःख, संघर्ष र असफलतालाई उज्यालोले पखाल्ने, परिवार र मित्रतासँगको नातालाई पुनः जीवित पार्ने र जीवनमा शुभ–समृद्धिको कामना गर्ने यो पर्व धार्मिक कर्मकाण्ड मात्रै हैन । नेपाली समाजलाई एकताबद्ध बनाउन भूमिका खेल्ने उत्सव पनि हो । हिन्दु धर्मावलम्बीको आत्मा पनि हो ।

तिहारका प्रत्येक दिनले जीवनका गहिरा दर्शन बोकेका छन् । यमराज, धर्म, प्रकृति र ममताको सन्तुलनमा बाँधिएको एक महान सांस्कृतिक काव्य जसले नेपाली पहिचानलाई उज्यालो बनाउँछ ।

यमपञ्चक अर्थात् तिहारको आरम्भ धनतेरसदेखि हुन्छ । जब दीपदानसँगै जीवनमा सकारात्मकता भित्र्याउने प्रतीक सुरु हुन्छ । यमराजको सन्देशवाहक कागलाई सम्झेर सुरु हुने कागतिहारले हामीलाई समाचार, सन्देश र सञ्चारको पवित्र महत्व सम्झाउँछ ।

कागलाई मिठो खानेकुरा अर्पण गर्नुलाई परम्पराका रूपमा मात्रै लिइँदैन । यो प्रकृतिसँगको सहजीवन र प्रत्येक जीवको भूमिकाप्रतिको सम्मान हो । त्यसपछि आउने कुकुर तिहारले वफादारी र कर्तव्यपरायणताको भावनालाई साकार गर्छ । धर्मराज युधिष्ठिरलाई स्वर्ग ढोकासम्म साथ दिएको कुकुरको कथाले हाम्रो संस्कृतिको गहिरो छाप बोकेको छ । निष्ठा नै मोक्षको मार्ग हो भन्ने बोध गराउँछ ।

यस दिन कुकुरलाई टीका, माला र मिठो खानेकुरा अर्पण गरेर पूजा गर्ने चलनलाई जनावरप्रेमका रूपमा मात्रै बुझन् हुँदैन । यो मानव र पशुबीचको पवित्र सम्बन्धको अभिव्यक्ति हो । घरको सुरक्षा, अपराध पत्ता लगाउने दक्षता र प्राकृतिक चेतनाको प्रतीकका रूपमा कुकुरलाई पूजा गर्नु वास्तवमा वफादारी र कृतज्ञताको पर्व मनाउनु हो ।

वैदिक दृष्टिले कुकुर यमराजको द्वारपाल हो । त्यसैले यस दिनको पूजा मृत्युपछि आत्माले मोक्ष प्राप्त गर्न मद्दत गर्छ भन्ने विश्वास गर्ने गरिन्छ ।

नरक चतुर्दशीले आत्मशुद्धिको अर्को अध्याय खोल्छ । बिहानै स्नान गर्दा पाप नाश हुने, तिल र चन्दनले शरीर शुद्ध हुँदा आत्मा पनि निर्मल हुने विश्वास छ । ‘सीतालोष्टसमायुक्तः सकण्टकदलान्वित । हर पापमपामार्ग भ्राम्यमाणः पुनः पुन’ जस्ता वैदिक मन्त्रहरूले आत्मशुद्धि र मुक्ति प्राप्तिको मार्ग देखाउँछन् ।

यो संस्कारले हामीलाई शारीरिक मात्र होइन, मानसिक स्वच्छताको पनि पाठ पढाउँछ । जीवनमा साँचो स्नान भनेको मनको मलिनता पखाल्नु हो भन्ने सन्देश दिन्छ ।

साँझपख लक्ष्मीपूजाको पालो आउँछ । लक्ष्मीलाई धन र ऐश्वर्यकी देवी मानिन्छ । तर, आर्थिक सम्पन्नताको प्रतीक मात्रै हैनन् । उनी स्वच्छता, सदाचार र परिश्रमको सम्मान हुन् । जस घर सफा, उज्यालो र शुद्ध हुन्छ, त्यही घरमा लक्ष्मी बस्छिन् भन्ने जनश्रुति वास्तवमा हाम्रो जीवन दर्शन हो ।

जहाँ अनुशासन र सत्यता बस्छ, त्यहीँ समृद्धि फस्टाउँछ । त्यसैले लक्ष्मी पूजाको दिन बिहानैदेखि घर लिपपोत गर्ने, दैलोमा दीप बाल्ने, चामलको पीठो र अबिरले लक्ष्मीको पाइला कोर्ने र लक्ष्मीलाई स्वागत गर्ने चलन छ ।

स्कन्द, पद्य र विष्णु पुराणमा उल्लेख आठ लक्ष्मीहरू धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, सन्तानलक्ष्मी, विद्यालक्ष्मी, विजयलक्ष्मी, ऐश्वर्यलक्ष्मी र धैर्यलक्ष्मीलाई जीवनकै ८ आधार मानिन्छ । जब हामी लक्ष्मीपूजा गर्छौं, हामी वास्तवमा धन मात्रै नभएर विवेक, धैर्य र परिश्रमको आराधना गरिरहेका हुन्छौं ।

तिहारले नेपाली समाजलाई सधैं परिवारको उज्यालोमा बाँधिदिन्छ । आँगनभर दीप बालिन्छ, बालबालिकादेखि वृद्धवृद्धासम्मले देउसी–भैलो गाएर शुभकामना बाँड्छन्, छिमेकीबीच सम्बन्ध गाढा हुन्छ । राजधानीका गल्लीदेखि गाउँका पाखासम्म झिलीमिली उज्यालो फैलिन्छ । यो उज्यालो बिजुली र बत्तीको मात्रै नभएर माया, क्षमा र एकताको पनि उज्यालो हो ।

गाईगोरु र गोवर्धन पूजाले कृषिप्रधान समाजको मेरुदण्डलाई सम्मान गर्छ । गाईलाई माता, गोरुलाई श्रमको प्रतीक र गोवर्धनलाई धरतीको स्थिरता मानेर पूजा गर्नु हाम्रो आभार प्रकट गर्ने शैली हो । त्यही दिन नयाँ वर्ष नेपाल संवत् पनि सुरु हुन्छ । आफ्नो मौलिक समयचक्रलाई सम्मान गर्ने हाम्रो सभ्यताको निरन्तरता यही हो ।

तिहारको अन्तिम वा महत्वपूर्ण दिन भाइटीका हो । यसलाई तिहारको आत्मा पनि मानिन्छ । दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु र समृद्धिको कामना गर्दै टीका लगाउँछन् । दाजुभाइले पनि प्रेम र कृतज्ञताको उपहार फर्काउँछन् । त्यो दिन सम्बन्धको बन्धनसँगै जीवनभरको एकअर्काप्रतिको उत्तरदायित्व र स्नेहको प्रतिज्ञा पनि गरिन्छ ।

त्यही भएकाले तिहारमा प्रत्येक घर उज्यालोले भरियोस् । प्रत्येक मनमा माया र करुणाको दीप प्रज्वलित रहोस् । अन्धकार, स्वार्थ र द्वेषका पर्खालहरू भत्किएर नेपाल उज्यालो, सहिष्णुता र समृद्धिको नयाँ यात्रामा अघि बढोस् । तिहारको सबैमा शुभकामना ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.