बक्यौता नतिरेपछि ६ ठुला उद्योगको विद्युत् लाइन काटियो

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ४, मंगलबार १०:५२

विराटनगर । डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिरेका कारण नेपाल विद्युत् प्राधिकरणले सुनसरीको खनारस्थित रिलायन्स स्पिनिङ मिल्ससहित ६ ठुला उद्योगको विद्युत् लाइन काटेको छ ।

आज (मंगलबार) बिहान प्राधिकरणले ती उद्योगहरूको विद्युत् आपूर्ति रोक्दै कारबाही अघि बढाएको हो ।

विगतमा लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंक लाइनबाट प्रिमियम दरमा विद्युत् उपभोग गरेका उद्योगहरूलाई प्राधिकरणले कात्तिक २ गतेसम्म बक्यौता बुझाउन अन्तिम म्याद दिएको थियो ।

तर, तोकिएको समयमा भुक्तानी नगरेपछि मंगलबार (आज) बिहानै लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
काटिएका उद्योगहरूमा रिलायन्स स्पिनिङ मिल्स, जगदम्बा स्टील, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्स रहेका छन् ।

प्राधिकरणका अनुसार यी उद्योगहरूको बक्यौता रकम यस प्रकार छः  जगदम्बा स्टीलकाे १ अर्ब ६० करोड, रिलायन्स स्पिनिङकाे ७५ करोड ३७ लाख, शिवम् सिमेन्टको  ७७ करोड ८८ लाख, घोराही सिमेन्टको ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्टको ४४ करोड ८४ लाख, त्रिवेणी स्पिनिङकाे ३२ करोड १० लाख रहेको छ ।

सबै रकम २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइनमार्फत उपभोग गरिएको बिजुलीको अतिरिक्त महसुल (प्रिमियम शुल्क) अन्तर्गत पर्ने प्राधिकरणले जनाएको छ ।

कोशी प्रदेशमा मात्र  ६ वटा ठुला उद्योगहरू यस्तै बक्यौतामा परेका छन् । तीमध्ये ३ वटा जुट उद्योग छन् भने उदयपुर सिमेन्ट र धनकुटाको निगाले सिमेन्ट उद्योग केही वर्षअघि नै बन्द भएका कारण भुक्तानी हुन सकेका छैनन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारको सार्वजनिक बिदा हुँदाहुँदै पनि उद्योगहरूले बक्यौता तिर्न सक्ने गरी काउन्टर सञ्चालन गरिएको जानकारी दिए ।

उनका अनुसार किस्ताबन्दी सुविधा पनि उपलब्ध छ । पहिलो किस्ता बुझाएपछि जुनसुकै बेला पनि काटिएको लाइन पुनः जोडिनेछ । प्राधिकरणले यसअघि नै चेतावनी दिएको थियो कि बक्यौता नतिर्ने उद्योगमाथि ‘कडा प्रशासनिक कारबाही’ गरिनेछ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.