‘अंशबण्डा नगरिदेऊ, तिम्री आमा र मलाई चाहिँ !’

Share this
649shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ६, शनिबार १७:०९

बाँदर लाग्ने मकैबारी, दुम्सीले माडेको फापरघारी,

बँदेलले उधिनेको तरुलबारी।

आँगनको हाँस, परेवाका खोर, माहुरीका रित्ता डुँडहरू।

बुन्दै गर्दा छुटाइएका डोका र पाठाका बरिया,

दलिनको टोड्के ढिकी र कोप्चे जाँतो।

रित्तो दाम्ला र खाली किल्लाहरू,

घुर्यानमै छिरेको खहरेको ढुङ्गा,

र सुकेका दुई मुठी बाँसका चोया।

बस्, यति नै छ बाँकी हाम्रो सम्पत्ति,

छोरा, तिमीहरूले यही अंश लैजानु।

घरभित्रका हाम्रा अनमोल यिनै जिन्सी:

चम्किएको माटे अगेनो, भाँचिएको सिल्भरको डेक्ची,

कान लुछिएको थोत्रो कुँडे र जरु।

कब्जा उक्कलिएको बुढो सन्दुक,

मुग्लानबाट हजुरबाले ल्याएको पानासोनिक रेडियो।

आमाले सिन्दूर टीका लाउने बिर्के ऐना,

र लट्टा फुटाउने बाँसको काइँयो।

तिमीहरूकी आमालाई अन्माउँदा

मैले दिएको चार आना भरीको कालो मारवाडी।

खोरियाबाट अधियाँमा आएको साँढे तीन पाथी मस्याङ,

र मान्द्रोले छोपेर सोलीमा राखेको कागुनोको बीउ।

बस्, यति नै छ बाँकी हाम्रो सम्पत्ति, छोरा,

तिमीहरूले यही अंश लैजानु।

छर्लङ्ग आकाशगङ्गा देखिने खरको छानो,

टाटीको माटो उखेलिएका बनमाराका चार भित्ताहरू।

धमिराले मक्काएका खुट्टे खाट, र धुलो लागेका काठे दराज।

बार्दलीमा झुण्डिएका सुकेका मखमली,

हजुरबाले पहिला ओढेको यो कालो मण्डी।

अँगेनाको माथि धुवाँ लागेका बाँसका कप्टेरा,

नुन राख्ने सोली र तीनवटा फिपी।

तिमीहरू सहरमा पढ्दा घिउ पठाउने ठेकी र हर्पे,

मोतियाविन्दुले धमिलिएका हाम्रा चार आँखा,

शौच जान नसक्दा प्रयोग गरिएका कोपरा।

बस्, यति नै छ बाँकी हाम्रो सम्पत्ति, छोरा,

तिमीहरूले यही अंश लैजानु।

आँगनको त्यो बुढो खनिउको रुख,

करेसामा उम्रिएका नाबो लुँडे र बेथेका साग।

एकादशीपछि नलिपिएको तुलसी मोठ, काँक्रा,

फर्सी बेरिन नपाएर ठिङ्ग्रिएका थाङ्ग्राहरू।

गोरु नभए पनि पहिलाकै हल्लुँडो,

अनौ र हरिशका ठुटाहरू, कुखुरा र हाँस बस्ने खाली पेरुङ्गो।

वर्षौंदेखि बगेका मेरा अमिला पसिना,

र पुर्खौंदेखि मैले लुकाएर राखेका हाम्रा अभाव र सपना।

बस्, यति नै छ बाँकी हाम्रो सम्पत्ति, छोरा,

तिमीहरूले यही अंश लैजानु।

बाँकी यति नै छन् बचेका हाम्रा जायजेथा,

जे जति थिए, सबै बेचिए,

सबै सकिए तिमीहरूलाई सहरमा पढाउँदा।

घँघराका लौरीझैं ठेला उठेर फुटेका यी ‘कुरूप’ हात,

तिम्रा शिरमा राखी आशीर्वादसहित विन्ती गर्छु:

जे जति छन्, बाँडेर सबै लैजाओ, बाँडीचुँडी मिलेर खाओ।

जम्ल्या हात जोडी पुनः एक विन्ती गर्छु बाबै,

पुर्खौली जेथाका लागि कलह नमच्चाओ,

भएभरका जे छन्, सबै लैजाओ, तर…

तिम्री आमा र मलाई चाहिँ अंशबण्डा नगरिदेऊ।

हामी बुढेसकालमा सँगै रही मर्न चाहन्छौं,

बरु हामी थोरै नै खाइदिउँला तिम्रा हवेलीमा,

हामीलाई दुईतिर पर्ने गरी अंश नलगाइदेऊ।

दुईतिर पर्ने गरी अंश नलगाइदेऊ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×