
नेपालमा जघन्य अपराधका दोषी वर्षौंसम्म पत्ता नलाग्ने र कतिपय घटना ‘रहस्यमय’ बन्ने गरेका तितो यथार्थका माझ मोरङको लेटाङमा १३ वर्षीया बालिका अंशु गौतमको बलात्कार र हत्या प्रकरणमा प्रहरीले हासिल गरेको सफलताले एउटा भरोसायोग्य सन्देश दिएको छ ।
यो घटनाले राज्यको अनुसन्धान निकायले दृढ इच्छाशक्ति र व्यावसायिकताका साथ काम गर्ने हो भने जस्तोसुकै जटिल मुद्दामा पनि सत्य र न्यायको जित असम्भव छैन भन्ने प्रमाणित गरेको छ ।
करिब डेढ महिना लामो सघन अनुसन्धान, तीन तहका प्रहरी जिल्ला प्रहरी, कोशी प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो – सीआईबीको संयुक्त परिचालन र ‘अपरेशन जग’ नाम दिएर गरिएको विशेष अपरेसनको नतिजास्वरूप ५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारी पक्राउ पर्नु प्रहरीका लागि एउटा ठूलो सफलता हो ।
यो अनुसन्धानका चुनौतीहरू सामान्य थिएनन् । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार बालिका बेपत्ता भएको २ सातापछि सडेगलेको अवस्थामा शव फेला पर्नुले अधिकांश जैविक प्रमाणहरू नष्ट भइसकेका थिए । घटनाको कुनै प्रत्यक्षदर्शी थिएनन्, न त बालिकाले मोबाइल नै बोकेकी थिइन् । यस्तो अवस्थामा प्रहरीले दर्जनौं व्यक्तिसँग सोधपुछ गर्नु र तीमध्ये कतिपयको पोलिग्राफ टेस्ट गर्नुले अनुसन्धान कति सुक्ष्म र मिहिन ढंगले अघि बढ्यो भन्ने देखाउँछ ।
दोषी स्वयं अनुसन्धानको सुरुवाती चरणमा पीडित परिवारसँगै खोजी कार्य र उजुरी प्रक्रियामा सक्रिय रहनुले पनि प्रहरीलाई भ्रमित तुल्याएको हुनुपर्छ । तर, अनुसन्धानको मोड त्यहाँ बदलियो, जहाँ अपराधीको चलाखी विफल भयो ।
छोरा कैदमुक्त भएको भोलिपल्टै कसैलाई सल्लाह नगरी ‘कमाउन जान्छु’ भन्दै पदमबहादुरको हतारमा भारततर्फ पलायन हुनुले प्रहरीलाई सही दिशामा केन्द्रित गर्यो । यो संयोग नभएर अनुसन्धानको सुक्ष्म निगरानीको प्रतिफल थियो, जसले अपराधीको हडबडीलाई समात्न सफल भयो ।
प्रहरीको सफलता केवल पक्राउमा मात्र सीमित रहेन, उसले अभियुक्तको मनभित्रको पश्चात्तापलाई पनि बाहिर ल्याउन सफल भयो । भारतमा गाई दुहुँदा बाल्टीमा रगत देखेपछि भएको आत्मग्लानीको बयानले अपराधको भयावहता र त्यसको मनोवैज्ञानिक असरलाई चित्रण गर्छ ।
यस घटनाले दिएको सन्देश स्पष्ट छः यदि प्रहरीले राजनीतिक दबाब वा बाह्य प्रभावबाट मुक्त भएर, पर्याप्त स्रोतसाधनको प्रयोग गरी, तालिमप्राप्त जनशक्तिलाई खटाएर मन लगाएर सुक्ष्म रूपले अनुसन्धान गर्ने हो भने कुनै पनि घटनाका दोषी उम्कन पाउँदैनन् । यो ‘जस्टिस फर अंशु गौतम’ अर्थात् ‘अपरेशन जग’ ले केवल एक बालिकाको हत्यारा पत्ता लगाएको मात्र छैन, यसले लामो समयसम्म न्यायको पर्खाइमा रहेका हरेक पीडित परिवारमा आशाको सञ्चार गरेको छ ।
कतिपय हाई–प्रोफाइल र सामूहिक हत्याका घटना वर्षौंदेखि रहस्यमै रहेका बेला लेटाङ घटनाको समाधानले नेपाल प्रहरीको क्षमतामा विश्वास बढाएको छ । अबको चुनौती भनेको यो सफलतालाई संस्थागत गर्दै, हरेक अनुसन्धानमा यही स्तरको प्रतिबद्धता र व्यावसायिकता प्रदर्शन गर्नु हो ।
अंशु गौतमले न्याय पाएकी छिन् । यो न्याय, कर्तव्यनिष्ठ प्रहरीको व्यावसायिकता र दृढताको प्रतिफल हो । यस सफलताका लागि अनुसन्धानमा संलग्न सम्पूर्ण प्रहरी टोली धन्यवादका पात्र छन् ।

























