
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी र उपाध्यक्ष गुणवतीदेवि थारूबीच बुधबार सडकमै विवाद भएको छ । विवादको मुख्य कारण भनेको सरकारी गाडीको दुरुप्रयोग थियो ।
घटनाको विवरण अनुसार पार्टीको कार्यक्रमका लागि विराटनगर आएकी उपाध्यक्ष थारूले अध्यक्ष माझीले प्रयोग गर्ने सरकारी गाडी देखेपछि चालकबाट चाबी खोसेकी थिइन् । विवाद बढ्दै गएपछि अध्यक्ष माझी र उपाध्यक्ष पक्षका एमाले कार्यकर्ताबीच हातपातको अवस्था समेत सिर्जना भएको थियो । स्थानीयले बीचमै हस्तक्षेप गरी घटनालाई रोक्न खोजे ।
उपाध्यक्ष थारूले भनिन्, ‘अध्यक्षले अरु जनप्रतिनिधिको गाडी खोसेका छन् । आफूले प्रयोग गर्ने गाडी भने आफ्ना कार्यकर्तालाई चढाउँदै दुरुपयोग गरिरहेका छन् । त्यही भएर दुरुपयोग भएको गाडी हामीले रोकेका हौ ।’ उनका अनुसार अध्यक्षले विगतदेखि नै जनप्रतिनिधिको गाडी कब्जा गर्ने र सरकारी स्रोतको दुरुपयोग गर्ने काम गरिरहेका छन् ।
यसअघि गत फागुनमा माझीले उपाध्यक्षसहित वडाध्यक्षले प्रयोग गर्दै आएको सरकारी सवारी खोसिसकेका थिए । त्यसपछि उनीहरु आफ्नै सवारी साधन प्रयोग गर्न बाध्य भएका छन् ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले भने, ‘जिल्ला प्रशासन कार्यालय बाहिर विवाद भएको थियो । तर, उनीहरु कार्यालयमा प्रवेश गरेर छलफल गर्न आएनन् । गाउँपालिकामै समस्या समाधान गर्न छलफल गर्ने सहमति भएको थियो ।’
ग्रामथानका अध्यक्ष माझी तत्कालीन माओवादी केन्द्रबाट गत मंसिरमा निर्वाचित भए पनि एमाले बहुमत रहेको गाउँपालिकामा उपाध्यक्षसहितका अन्य जनप्रतिनिधिबीच पटकपटक विवाद भइरहेको छ । गाउँपालिका अध्यक्ष निर्वाचित भएदेखि नै माझी अनेक विवादमा पर्दै आएका छन् ।

अरु जनप्रतिनिधिलाई सरकारी गाडी प्रयोगमा रोक लगाएका उनले आफू भने सरकारी गाडीमा पार्टीका कार्यकर्ता बोकेर हिँड्ने गरेका छन् । अरु जनप्रतिनिधिको गाडी खोसेर आफू भने सरकारी गाडी दुरुपयोग गर्ने गरेपछि उपाध्यक्षसहितको समूहले विरोध गर्दै आएको छ ।
अध्यक्ष माझीले भने, ‘गाउँपालिकाको काममा बाधा पुर्याउने नियतले जनप्रतिनिधिहरूले अनावश्यक विवाद सिर्जना गर्छन् । म पद, भत्ता र तलबका लागि अध्यक्ष भएको होइन । जनताको सेवा गर्न आएको हुँ ।’ अध्यक्ष माझीले उपाध्यक्ष र वडा अध्यक्षको अधिकार सम्मान गर्ने आश्वासन दिँदै आफूले पनि अध्यक्षको अधिकार सम्मान पाउनुपर्नेमा जोड दिए ।
उनले थपे, ‘गाउँसभा बोलाउँछु, नोट अफ डिसेन्ट लेख्छन् । बैठक बोलाउँछु, आउँदैनन् । काम गर्न दिँदैनन् । तर, म रोकिएको छैन । सडकमा झगडा गरेर जनताको प्रतिनिधि बन्न सकिँदैन ।’ ग्रामथानमा सरकारी स्रोतको प्रयोग र जनप्रतिनिधिहरूबीचको विवाद पुरानै हो । विवादका कारण गाउँपालिकामा प्रशासनिक अस्थिरता निम्तिनुका साथै दुई पक्षबीच बारम्बार तनाव अवस्था उत्पन्न भइरहेको छ ।

























