
धनकुटा । विद्यालय परिसर र क्यान्टिनहरूमा खुलेआम सुर्तीजन्य पदार्थको बिक्री–वितरण भइरहेको गुनासो आएपछि धनकुटा प्रहरीले सक्रियता बढाएको छ । विद्यार्थीहरूले नै यसबारे गुनासो गरेपछि प्रहरीले नियमन र नियन्त्रणमा कडाइ सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटामा आयोजित अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेसमक्ष विद्यार्थीहरूले मौखिक उजुरी गरेका थिए । गोकुण्डेश्वर बालमन्दिर विद्यालयका विद्यार्थीले विद्यालय हाता र क्यान्टिनमा सुर्तीजन्य पदार्थको पहुँच सहज भएको भन्दै प्रहरीको ध्यानाकर्षण गराएका थिए ।
विद्यार्थीको गुनासो लगत्तै डीआईजी घिमिरेले शैक्षिक संस्था वरपर हुने अवैध बिक्री रोक्न र बालबालिकालाई यसको प्रयोगबाट जोगाउन धनकुटा प्रहरीलाई निर्देशन दिएका हुन् । डीआईजीको निर्देशनपछि धनकुटा प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले सदरमुकामका विद्यालयहरूमा अनुगमन थालिएको जानकारी दिए। प्रहरीले विद्यालय र क्यान्टिन सञ्चालकहरूलाई सुर्तीजन्य पदार्थ नबेच्न सचेत गराएको छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसार शिक्षण संस्था, स्वास्थ्य संस्था, पुस्तकालय, विमानस्थल र बालकल्याण गृह जस्ता सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन र बिक्री गर्न पाइँदैन । ऐनले १८ वर्ष नपुगेका किशोरकिशोरी र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बेच्न समेत निषेध गरेको छ । नियम उल्लंघन गरी सार्वजनिक स्थलमा सेवन गर्नेलाई तत्काल रोक्ने, नमानेमा बाहिर निकाल्ने वा एक सय रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

























