
विराटनगर । विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत मोरङको ग्रामथानमा बिहीबार साँझ टिपरले स्कुटरलाई ठक्कर दिँदा बालकको मृत्यु भएको छ । मृतकका बुवासमेत रहेका स्कुटर चालक घाइते भएका छन् ।
प्रहरीका अनुसार गिट्टी बोकेर विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ९७७० नम्बरको टिपरले ग्रामथान गाउँपालिका–५ ककडमाडीमा उत्तरबाट दक्षिणतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश १–०२–०५२ प ९००५ नम्बरको स्कुटरलाई साँझ ५ बजेतिर ठक्कर दिएको थियो । ठक्करबाट स्कुटरको पछाडि सवार ग्रामथान–५ बस्ने १४ वर्षीय अनुप कार्कीको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए ।
उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो । अस्पतालका पुर्याइएका बालकलाई चिकित्सकले साँझ ५ः४५ बजेतिर मृत घोषित गरिदिएको जानकारी न्यौपानेले दिए ।
दुर्घटनामा स्कुटर चालक ग्रामथान–५ बस्ने ३५ वर्षीय केशर कार्की घाइते भएका छन् । सामान्य अवस्थाका उनको नोबेलमै उपचार भइरहेको छ । प्रहरीका अनुसार स्कुटर चालक मृतक बालकका बुवा हुन् ।
दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का अन्दाजी २४ वर्षीय सञ्जय चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । टिपर चालक चौधरीलाई इलाका प्रहरी कार्यालय हरैँचामा र टिपरलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।
स्कुटर प्रहरी चौकी तेतरियाको नियन्त्रणमा छ । टिपरको तीव्र गति र चालकको असावधानीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























