
काठमाडौँ । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज देशभर विभिन्न कार्यक्रम गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ। ज्येष्ठ नागरिकको हक-हितको संरक्षण, सम्मान र सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो।
नेपालमा २०५१ साल पुस ११ गतेदेखि ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता दिन सुरु गरिएको थियो। सोही ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष पुस ११ गतेलाई ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिन्छ। यो दिवसले ज्येष्ठ नागरिकप्रतिको सामूहिक दायित्व र उनीहरूले समाजमा पुर्याएको अमूल्य योगदानलाई सम्मान गर्ने अवसर प्रदान गर्दछ।
नेपालमा सामाजिक सुरक्षा भत्ताको इतिहास रोचक छ। २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले मासिक १०० रुपैयाँबाट वृद्धभत्ता दिन सुरु गरेको थियो। समयक्रमसँगै वृद्धि हुँदै हाल ज्येष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँ भत्ता पाउने गरेका छन्। हाल देशभर करिब १७ लाख ज्येष्ठ नागरिकले यो सुविधा लिइरहेका छन्।
नेपालको संविधान र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ। स्वास्थ्य सेवा र सम्मानजनक जीवन बाँच्न पाउने अधिकारलाई संविधानले नै प्रत्याभूत गरेको छ।
बढ्दै छ ज्येष्ठ नागरिकको संख्या
नेपालमा ज्येष्ठ नागरिकको संख्या क्रमशः बढ्दो क्रममा छ। तथ्याङ्क अनुसार २०३८ सालमा ८ लाख ५६ हजार ६१ जना ज्येष्ठ नागरिक रहेकामा २०६८ को जनगणनामा यो संख्या २१ लाख ५४ हजार ४ सय १० पुगेको थियो।
पछिल्लो २०७८ को जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुग्दा ज्येष्ठ नागरिकको हिस्सा १०.२ प्रतिशत रहेको छ। हाल नेपालमा २९ लाख ७७ हजार ३ सय १८ जना ज्येष्ठ नागरिक छन्, जसमा महिलाको संख्या १५ लाख ४३ हजार ९ सय ७ रहेको छ। २०६८ को तथ्याङ्क अनुसार नेपालमा १०० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको संख्या ३ हजार ५ सय ६६ रहेको थियो।

























