
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ पहिलो सातादेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। आयोगले ‘निर्वाचन आचारसंहिता २०८२’ को मस्यौदा तयार पारी हाल सरोकारवालाहरूसँग राय सुझाव संकलन गरिरहेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनको ४५ दिन अघिदेखि आचारसंहिता लागू गर्ने स्थापित प्रचलन अनुसार यस पटक पनि सोही प्रक्रिया अपनाउन लागिएको हो। आयोगले आगामी साता राजनीतिक दल र सरकारसँग अन्तिम छलफल गरेर मस्यौदालाई पूर्णता दिने तयारी गरेको छ।
नयाँ नियुक्ति र सरुवा बढुवामा रोक आचारसंहिता लागू भएपछि सरकार, राजनीतिक दल तथा उम्मेदवारहरूले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ। संहिता कार्यान्वयनमा आएपछि सरकारले दैनिक प्रशासनिक काम बाहेक नयाँ नियुक्ति, सरुवा, बढुवा वा दीर्घकालीन महत्त्वका निर्णयहरू गर्न पाउने छैन।
स्वच्छ निर्वाचनको आधार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले यो आचारसंहिता जारी गर्न लागेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार करिब डेढ महिनाअघि देखि नै दलहरूसँगको परामर्शमा मस्यौदा तयार पारिएको र प्राप्त सुझावहरूलाई समेटेर केही दिनभित्रै यसलाई अन्तिम रूप दिइनेछ।

























