
काठमाडौँ । सरकारले नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले यसबारे जानकारी दिए ।
गृह मन्त्रालयको संरचना र दरबन्दी स्वीकृत प्रवक्ता खरेलका अनुसार बैठकले गृह मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ । यसले गृह प्रशासनलाई थप व्यवस्थित बनाउने विश्वास सरकारले लिएको छ ।
इराक जाने कामदारलाई राहत सरकारले वैदेशिक रोजगारीका लागि इराक गई त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपाली नागरिकहरूका हकमा नयाँ निर्णय गरेको छ । अब इराकबाट बिदामा नेपाल आएका नागरिकहरूले आफ्नो ‘रेसिडेन्सी कार्ड’को सक्कल र फोटोकपीसहित आवेदन दिएमा उनीहरूलाई पुनः श्रम स्वीकृति दिने बाटो खुलेको छ ।
जापान प्रशिक्षार्थी कामदारसम्बन्धी निर्देशिका खारेज नेपाल र जापान सरकारबीच भएको ‘जितको’ सम्झौता अन्तर्गत जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निर्देशिका २०६६ लाई सरकारले खारेज गर्ने निर्णय गरेको छ । यससँगै अब जापानमा कामदार पठाउने नयाँ प्रक्रिया वा व्यवस्थाबारे सरकारले थप कदम चाल्ने सङ्केत गरेको छ ।
मधेश प्रदेशमा नयाँ मुख्य सचिव प्रशासनिकतर्फ सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशको कायममुकायम मुख्य सचिव पदमा सहसचिव कमलप्रसाद भट्टराईलाई मुकरर गर्ने निर्णय गरेको छ ।

























