
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण तराईका अधिकांश स्थानमा आज (बुधबार) बिहानैबाट हुस्सु र कुहिरो लागेको छ भने पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका १–२ स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ । दिउँसो तराई भू–भागमा हुस्सु र कुहिरो कायम रहनेछ भने पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ ।
रातिको समयमा पनि तराईका अधिकांश स्थानमा हुस्सु लागिरहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । हुस्सु तथा हल्का वर्षाको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ ।

























