निर्वाचन सुरक्षा: एकतिहाइ मतदानस्थल ‘अति संवेदनशील’, सवा ३ लाख सुरक्षाकर्मी परिचालन गरिँदै

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १६, बुधबार ११:२६

काठमाडौँ । आगामी २१ फागुन २०८२ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरिएका करिब ११ हजार मतदानस्थलमध्ये एकतिहाइलाई सुरक्षाका दृष्टिले ‘अति संवेदनशील’ सूचीमा राखिएको छ । निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार ३ हजार ६ सय ८० मतदानस्थललाई अति संवेदनशील, ४ हजार ४ सय ४२ लाई संवेदनशील र २ हजार ८ सय ४५ स्थललाई सामान्य सूचीमा वर्गीकरण गरिएको छ । सातवटै प्रदेशमा सुरक्षा गोष्ठी सकिएपछि यो सूचीमा केही थपघट हुन सक्ने मन्त्रालयले जनाएको छ ।

सरकारले निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र ‘निर्वाचन प्रहरी’ गरी कूल सवा ३ लाख सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । जसमा नेपाली सेनाका ७९ हजार ७ सय २७, नेपाल प्रहरीका ७१ हजार ६ सय २०, सशस्त्र प्रहरीका ३५ हजार १ सय १६ र अनुसन्धान विभागका १ हजार ९ सय जनशक्ति खटिनेछन् । त्यस्तै करिब १ लाख ४७ हजार निर्वाचन प्रहरीलाई ४० दिनको कार्यअवधि तोकेर भर्ना गर्ने तयारी गृह मन्त्रालयले गरेको छ ।

२०७९ को निर्वाचनको तुलनामा यसपटक ७५ मतदानस्थल र ८ सय ७५ मतदान केन्द्र थपिएका छन् । अघिल्लो निर्वाचनमा १ करोड ७९ लाख मतदाता रहेकामा यसपटक सवा ९ लाख मतदाता थपिएर कूल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ पुगेका छन् । थपिएका मतदाताको अनुपात मिलाएर मतदानस्थल र केन्द्र विस्तार गरिएको निर्वाचन आयोगले जनाएको छ ।

सरकारले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सुरक्षा गोष्ठी सम्पन्न गरिसकेको छ भने बुधबार विराटनगरमा कोशी प्रदेशस्तरीय गोष्ठी आयोजना गरिएको छ । मधेस र बागमती प्रदेशको गोष्ठीपछि केन्द्रीय सुरक्षा समितिमार्फत पुनः समीक्षा गरी निर्वाचन आयोगसँग अन्तिम छलफल गर्ने कार्यतालिका रहेको छ । राजनीतिक दलहरूबीचको प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय सीमा क्षेत्र र भौगोलिक विकटतालाई आधार मानेर सुरक्षा संवेदनशीलताको विश्लेषण गरिएको गृह मन्त्रालयको भनाइ छ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.