
जनकपुरधाम । मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएसँगै सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्ण यादवले सरकार गठन भएको करिब एक महिनापछि थप ६ जना मन्त्री नियुक्त गरेसँगै मधेस सरकार अब मुख्यमन्त्रीसहित १२ सदस्यीय बनेको छ । नवनयुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
नयाँ जिम्मेवारी पाउने मन्त्रीहरूमा मनिष सुमनले श्रम तथा यातायात, राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास र शंकरप्रसाद चौधरीले वन तथा वातावरण मन्त्रालय सम्हाल्ने भएका छन् । त्यसैगरी श्यामप्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी, वसन्त कुशवाहालाई खेलकुद तथा समाज कल्याण र फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। मन्त्रिपरिषद्को यो विस्तारले प्रदेश सरकारको कार्यसम्पादनमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ ।

























