
काठमाडौँ । सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौता विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतले उक्त रिटलाई सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।
यस विषयमा गत पुस ३ गते अधिवक्ता प्रेमराज सिलवाल र अधिवक्ता सुदीप भण्डारीसहितले दुई वटा छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए । ती रिटहरूमाथि सुनुवाइ गर्न सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको थियो । तर समय अभावका कारण उक्त इजलासमा मुद्दाको सुनुवाइ हुन सकेन ।
सरकार र आन्दोलनरत जेनजी समूहबीच भएको उक्त सम्झौताले कानुनी र संवैधानिक मर्यादा उल्लंघन गरेको भन्दै अधिवक्ताहरूले बदरको मागसहित सर्वोच्चमा चुनौती दिएका हुन्। अब यो मुद्दाको अर्को सुनुवाइ कहिले हुने भन्नेबारे अदालतले नयाँ मिति तय गर्नेछ ।

























