
विराटनगर । कोशी प्रदेश समन्वय परिषद् बैठकले प्रदेशका स्थानीय तह र प्रदेशमा देखिएका समस्याहरूलाई समाधान गर्ने निर्णय गरेको छ ।
प्रदेश र स्थानीय तहमा कानुनी एवं व्यावहारिक रुपमा देखिएका समस्याहरुलाई समाधान गर्नका लागि केन्द्र सरकार आग्रहलाई गर्ने र प्रदेश सरकारले गर्नुपर्ने कामहरू अगाडि बढाउने निर्णय गरिएको हो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश समन्वय परिषद्का अध्यक्ष हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार साँझ बसेको बैठकले प्रदेशका स्थानीय तहमा देखिएका सीमा व्यवस्थापन, वन क्षेत्रमा ढुंगा गिट्टीको राजस्व संकलन र ठेक्कामा देखेका समस्यालाई कानुनी रूपमा समाधान गर्ने निर्णय गरेको छ ।
केही समयदेखि कतिपय स्थानीय तहले ढुंगा गिट्टीको ठेक्का लगाउन नसकेको र यसले राजस्व गुमेको विषय उठेपछि यसलाई चाँडै सम्बोधन गर्ने गरी अगाडि बढ्ने निर्णय भएको छ । त्यस्तै, आयोजना बैंकलाई प्रदेशका हरेक स्थानीय तहमा पहुँच पुग्ने गरी निर्माण गर्ने र त्यहाँ रहेका अनावश्यक आयोजनाहरुलाई हटाई व्यवस्थित बनाउने निर्णयसमेत भएको छ ।
प्रदेशले लगानी सम्मेलनमार्फत अगाडि सारेका परियोजनालाई स्थानीय पालिकाहरुले पनि सहयोग र समन्वय गर्दै अगाडि बढ्ने निर्णय भएको छ । प्रदेश सरकारले लगानी सम्मेलनमार्फत अगाडि बढाएका ५१ परियोजनामध्ये २४ वटा कार्यान्वयनको प्रक्रियामा गएका छन् ।
प्रदेशमा देखिएका कर्मचारी व्यवस्थापन र स्थानीय तहको नयाँ कर्मचारी भर्नालाई पनि व्यवस्थित र द्रुत गतिले गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद रिसालले जानकारी दिए । त्यस्तै, संघीय सरकारले कर्मचारी हटाउने र अन्य कर्मचारीहरु समेत हटाउने परिपत्र हचुवाको भरमा आएको भन्दै कतिपय स्थानीय तहका परिषद् सदस्यले आवाज उठाएका थिए ।
उनीहरुले करारका कर्मचारी हटाउने निर्णयले सेवा प्रवाहमा कठिनाइ भएको र यो निर्णय तत्काल सच्याउनका लागि केन्द्रमा पठाउनुपर्ने बताएका छन् । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गर्न लागेका र गरिरहेका नयाँ कामलाई स्थानीय तहले सहयोग गर्नुपर्ने बताए ।
प्रदेश सरकारको पहलमा निर्माण भइरहेको पदमार्ग र पर्यटन वर्षलाई सफल बनाउनका लागि उनको आग्रह छ । त्यस्तै, लगानी सम्मेलनमार्फत प्रक्रियामा गएका परियोजनाहरु र स्थानीय उत्पादनलाई प्राथमिकता दिएर अगाडि बढाइएका कार्यक्रमलाई सहयोग गर्न पनि उनले आह्वान गरेका छन् ।


























