
विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमा २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। बिहीबार सम्पन्न नगरसभाको १७ औँ अधिवेशनले गत भदौमा भएको ‘जेनजी आन्दोलन’ बाट सिर्जित परिस्थिति र आन्तरिक आयमा देखिएको मन्दीका कारण बजेट समायोजन गर्ने निर्णय गरेको हो।
उपमेयर शिल्पा निराला कार्कीले नगरसभामा संशोधित बजेट प्रस्तुत गर्दै जेनजी आन्दोलनका कारण उत्पन्न असहज अवस्था, घरजग्गा कारोबारमा आएको मन्दी र संस्थागत बहाल कर लक्ष्यअनुसार संकलन हुन नसक्दा बजेट कटौती गर्नुपरेको जानकारी दिइन्। चालु आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख रुपैयाँ आयको अनुमान गरिएकोमा पुस १५ गतेसम्म मात्र १ अर्ब १५ करोड ८४ लाख रुपैयाँ अर्थात् २८ दशमलव ९३ प्रतिशत मात्र यथार्थ आय भएको छ। आन्तरिक राजस्वतर्फ १ अर्ब ४० करोडको लक्ष्य राखिएकोमा हालसम्म १९ करोड ८५ लाख रुपैयाँ मात्र संकलन भएको प्रतिवेदनमा उल्लेख छ।
नगरसभालाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा महानगरको प्रशासनिक भवनसहित १३ वटा वडा कार्यालयमा भएको आगजनीबाट झण्डै १ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको स्मरण गराए। उनले आन्दोलनका क्रममा आफ्नै निजी निवास र वडा नम्बर १ का अध्यक्षको घरमा समेत आगजनी हुँदा ठूलो पीडा महसुस भएको बताए। आन्दोलनले भवन मात्र नभई शववाहन, जेसीबी र महत्त्वपूर्ण कागजातहरू समेत नष्ट गरेकाले यो क्षति पूर्ति गर्न महानगरलाई केही वर्ष लाग्ने उनको भनाइ छ।
सीमित स्रोत र साधनका बाबजुद महानगरले विकासका कामलाई निरन्तरता दिइरहेको मेयर कोइरालाले दाबी गरे। उनले जाइकाको सहयोगमा सञ्चालित खानेपानी आयोजना ७० प्रतिशत सम्पन्न भएको, स्वास्थ्य सेवामा महानगर मोरङकै तेस्रो स्थानमा पुगेको र देशमै पहिलोपटक अटिजम सेवा केन्द्र सञ्चालन गरिएको जानकारी दिए। आम्दानी घटेको र भौतिक संरचना ध्वस्त भएको यो कठिन समयमा पनि जनप्रतिनिधि र कर्मचारीबीचको बलियो एकताकै कारण विराटनगर नमुना बनेको उनले उल्लेख गरे।
प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालका अनुसार यो अधिवेशन विराटनगर महानगरको इतिहासमै सबैभन्दा छोटो समयमा र मर्यादित रूपमा सम्पन्न भएको छ। नगरसभाले वडास्तरीय बाहेकका नगरस्तरीय योजना र अन्य विषय क्षेत्रगत कार्यक्रमहरू समायोजन हुने गरी संशोधित बजेटलाई अनुमोदन गरेको छ।

























