
काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी गैरव्यावसायिक एवं अमर्यादित सामग्री पोस्ट गर्ने ५ सय ९९ जना प्रहरी कर्मचारी विभागीय कारबाहीमा परेका छन्। नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति र आचारसंहिता विपरीत फेसबुक, टिकटक र एक्स (ट्विटर) जस्ता प्लेटफर्ममा संगठनविरुद्ध टिप्पणी गर्ने तथा पोसाकको दुरुपयोग गर्नेहरूलाई कारबाही गरिएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्मको अवधिमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) देखि कार्यालय सहयोगीसम्मका कर्मचारी कारबाहीमा परेका हुन्। कारबाही भोग्नेहरूमा १ जना डिआइजी, १ जना एसएसपी, ४ जना एसपी, ५ जना डिएसपी र २४ जना इन्स्पेक्टर रहेका छन्। त्यस्तै, ३ सय ५८ जना प्रहरी जवान र अन्य विभिन्न दर्जाका कनिष्ठ अधिकृत तथा हवल्दारहरूले पनि विभागीय सजाय पाएका छन्।
संगठनको नीति उल्लंघन गर्ने यी कर्मचारीहरूलाई कसुरको प्रकृति हेरेर सख्त चेतावनी र नसिहत दिनेदेखि बढुवा रोक्कासम्मको कारबाही गरिएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले २०७१ सालदेखि नै सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका लागू गरेको छ भने ‘प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश–२०७७’ मार्फत थप कडाइ गरेको छ।
प्रचलित नियमअनुसार प्रहरी कर्मचारीले सामाजिक सञ्जालमा हातहतियार, पोसाक र सरकारी सवारी साधन प्रयोग गरी भिडियो वा फोटो अपलोड गर्न पाउँदैनन्। साथै, प्रहरी गतिविधिका बारेमा जथाभावी टीकाटिप्पणी गर्न समेत बन्देज लगाइएको छ। अनुशासन र मर्यादा कायम राख्न भन्दै प्रहरीले पछिल्लो समय सामाजिक सञ्जालको निगरानीलाई तीव्र पारेको छ।

























