
झापा । निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन कुल ७ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ। जिल्ला सुरक्षा समितिको योजनाअनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र निर्वाचन प्रहरीको एकीकृत टोली खटाइनेछ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार झापामा यसपटक ४ हजार ७ सय ४८ जना निर्वाचन प्रहरी परिचालित हुनेछन्। यसका लागि आजदेखि भर्ना प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। भर्ना हुन चाहने इच्छुक व्यक्तिहरूले आगामी माघ ५ गतेभित्र दरखास्त दिइसक्नुपर्ने भर्नासम्बन्धी सूचनामा उल्लेख छ। यसपटक सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा भर्ना प्रक्रिया अघि बढाएका छन्।
जिल्ला निर्वाचन कार्यालयले झापाका २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रहरूको सुरक्षा वर्गीकरण समेत गरेको छ। जसमध्ये ९५ वटा मतदानस्थल र २७१ वटा मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको छ। त्यस्तै १४७ वटा मतदानस्थललाई संवेदनशील र ४३ वटालाई सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ। मतदान केन्द्रतर्फ ३९० वटा संवेदनशील र १०५ वटा सामान्य अवस्थामा रहेको प्रशासनले जनाएको छ।
मतदाताको संख्या र पायक पर्ने स्थानलाई हेरेर झापामा यसपटक ४९ वटा मतदान केन्द्र थप गरिएका छन्। थपिएका केन्द्रहरूमा पनि सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन मोबाइल गस्ती र विशेष सुरक्षा टोली परिचालन गरिने प्रमुख जिल्ला अधिकारी गेलालले बताए। निर्वाचनमा खटिने निर्वाचन प्रहरीको छनोट प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन सुरक्षा निकायहरूलाई निर्देशन दिइएको छ।

























