
काठमाडौं । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारबाट समानुपातिक तर्फको मतपत्र छपाइ सुरु गरेको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक मतपत्रमा ५८ वटा राजनीतिक दलको चुनाव चिह्न रहनेछ । पुस १३–१४ गते राजनीतिक दललाई समानुपातिक बन्दसूची बुझाउने समय दिइएको थियो ।
त्यतिबेला ६४ दलले सूची बुझाएका थिए । जसमा १० वटा दलले एकल चुनाव चिह्नमा नाम दिएका थिए । त्यसअनुसार मतपत्रमा ५८ दलको चिह्न रहने भएको हो ।
प्रत्यक्ष तर्फको मतपत्र छपाइ भने माघ १० गतेपछि मात्र सुरु हुनेछ । प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको अन्तिम म्याद माघ ६ गते रहेको छ र माघ ९ गते निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम छ ।
यसअघि नमूना मतपत्र छापिएको छ । आयोगले प्रत्यक्ष र समानुपातिक दुवै तर्फ ५–५ लाख नमूना मतपत्र छापेको छ । जसले मतदातालाई मतदान प्रक्रिया बुझ्न र गलत मतदान घटाउन सहयोग गर्नेछ ।
नमूना मतपत्रमा राजनीतिक दलको वास्तविक चुनाव चिह्न नभए पनि रंग वास्तविक मतपत्र जस्तै राखिएको छ । जसले मतदातालाई सहजता दिने आयोगको विश्वास छ ।

























