
काठमाडौं । ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोला उत्पादन, बिक्री र वितरणमा कडाइ गरिएको छ ।
वातावरण संरक्षणमा चुनौती बढ्दै गएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योग र फर्महरूमा स्थलगत निरीक्षण तीव्र बनाउँदै प्रतिबन्ध कार्यान्वयनमा ल्याएको हो । विभागले हालै गरेको निरीक्षणका क्रममा ललितपुरको बालकुमारी प्लास्टिक उद्योगलाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ ।
उत्पादन वस्तुको कारखाना मूल्य नराखिएको र उद्योग दर्ताको प्रमाणपत्र सार्वजनिक रूपमा नदेखिने गरी राखिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको विभागले जनाएको छ । सोही ऐनले निरीक्षणका क्रममा तत्काल प्रमाणका आधारमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने व्यवस्था गरेको छ ।
यस्तै, एटिएल प्रोडक्सन हाउसलाई पनि उद्योग दर्ताको प्रमाणपत्र सार्वजनिक रूपमा नराखेको कारण ५१ हजार रुपैयाँ जरिबाना गरिएको छ । विभागका अनुसार पछिल्ला दिनहरूमा ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण नगर्न उद्योग, वितरक र आयातकर्तालाई निरन्तर सचेत गराइँदै आएको छ ।
केही दिनयता विभागले दर्जनौँ उद्योग तथा फर्ममा निरीक्षण गरिसकेको छ । यसै साता मात्र गरिएको अनुगमनका क्रममा केही फर्मलाई नगद जरिबाना गरिएको विभागले जनाएको छ ।
प्लास्टिकको अनाधिकृत र अत्यधिक प्रयोगले वातावरणमा गम्भीर असर पारेकाले नियन्त्रणका लागि बजारमा निगरानी थप कडा बनाइने विभागको भनाइ छ ।

























