
काठमाडौं । प्रजातान्त्रिक आन्दोलनका अग्रपंक्तिका योद्धा, नेपाली कांग्रेसका निष्ठावान नेता, पूर्वसांसद तथा पूर्वमन्त्री एवम् नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ ।
८४ वर्षको उमेरमा शुक्रबार साँझ उपचारका लागि वीर अस्पताल पुर्याउँदै गर्दा उनको निधन भएको हो । केही समयदेखि स्वास्थ्य समस्याबाट ग्रसित दाहालको उपचार भइरहेको थियो ।
लोकतन्त्र, प्रेस स्वतन्त्रता र बीपी कोइरालाको राजनीतिक दर्शनप्रति जीवनभर समर्पित दाहाल नेपाली राजनीति तथा पत्रकारिता क्षेत्रमा १ विशिष्ट व्यक्तित्वका रूपमा चिनिन्थे । उनले प्रजातान्त्रिक आन्दोलनका कठिन कालखण्डमा निर्वाह गरेको भूमिका र पत्रकारितामार्फत लोकतान्त्रिक चेतना फैलाउन दिएको योगदान नेपाली इतिहासमा उल्लेखनीय मानिन्छ ।
ओखलढुंगा जिल्लाको तत्कालीन वरुणेश्वरमा जन्मिएका दाहाल नेपाली कांग्रेसबाट ओखलढुंगाको प्रतिनिधित्व गर्दै सांसद र मन्त्रीसमेत बनेका थिए । पार्टीभित्र सैद्धान्तिक स्पष्टता र संगठनप्रतिको प्रतिबद्धताका कारण उनी बीपी विचारका सच्चा अभियन्ताका रूपमा परिचित थिए ।
नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सदस्यको जिम्मेवारीदेखि लिएर तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक)को केन्द्रीय सदस्यसम्मको भूमिकामा उनी सक्रिय रहे । पत्रकारिताको क्षेत्रमा पनि दाहालको योगदान उत्तिकै स्मरणीय छ ।
नेपाली कांग्रेसको मुखपत्रका रूपमा परिचित ‘राष्ट्रपुकार’ साप्ताहिकको सम्पादक रहेर उनले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र राजनीतिक चेतनालाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । पत्रकार महासंघको नेतृत्व सम्हाल्दा पनि उनले पेसागत स्वतन्त्रता र पत्रकारहरूको हकहितका विषयलाई प्राथमिकतामा राखेको सहकर्मीहरू स्मरण गर्छन् ।
दाहालका परिवारमा २ छोरा डा. सुधांशु दाहाल र हिमांशु दाहाल छन् । उनकी धर्मपत्नी सुधा दाहाल हाल वीर अस्पतालमै उपचाररत छिन् ।
परिवारजनका अनुसार शनिबार बिहान ९ बजेसम्म काठमाडौंको मैतीदेवी नजिक धोबीखोला पट्टी रहेको निवासमा दिवंगत दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिनेछ । त्यसपछि बिहान ९ः३० बजेपछि पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार गरिने कार्यक्रम तय गरिएको छ ।
होमनाथ दाहालको निधनसँगै नेपाली लोकतान्त्रिक आन्दोलन, राजनीतिक नेतृत्व र पत्रकारिता क्षेत्रले एक अनुभवी, निष्ठावान र सिद्धान्तनिष्ठ व्यक्तित्व गुमाएको छ । उनको योगदान र स्मृति नेपाली राजनीतिक इतिहासमा दीर्घकालसम्म जीवित रहने छ ।

























