
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले आज शनिबारका लागि तय गरेका पदयात्रा लगायतका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेको छ। पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनको शोकमा सम्मान प्रकट गर्दै यी कार्यक्रमहरू स्थगित गरिएको हो।
विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले शनिबार एक विज्ञप्ति जारी गर्दै निर्धारित पदयात्रा रोकिएको जानकारी दिएको छ। यद्यपि, आइतबार हुने भनिएको विशेष महाधिवेशनको समुद्घाटन समारोह भने दाहालप्रति श्रद्धा र सम्मान अर्पण गर्दै निर्धारित समयमै सुरु हुने सचिवालयले स्पष्ट पारेको छ।
विज्ञप्तिमा दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरिएको छ। कांग्रेसका पुराना र प्रभावशाली नेता दाहालको शुक्रबार साँझ काठमाडौँमा निधन भएको थियो।

























