
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले सामाजिक सञ्जालमाथि कडा निगरानी गर्न थालेको छ ।
आयोगले सामाजिक सञ्जाललाई समेत कडाइका साथ आचारसंहिताको दायरामा ल्याएको हो । आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने उद्देश्यका साथ आयोगले सामाजिक सञ्जालमार्फत हुने गतिविधिलाई नियन्त्रणमा राख्ने व्यवस्था गरेको छ ।
आयोगका अनुसार निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न, नक्कली साइट खोल्न वा योजनाबद्ध रूपमा सामग्री उत्पादन र प्रसारण गर्न पाइने छैन । आचारसंहितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर वा नगरी निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि किसिमका गतिविधि निषेध गरिएको छ ।
कसैलाई होच्याउने, बदनाम गर्ने, झुटा आरोप लगाउने वा दुष्प्रचार गर्ने सामग्री सामाजिक सञ्जालमा राख्न, सेयर गर्न वा फैलाउन नपाइने स्पष्ट व्यवस्था गरिएको छ । भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमानजनक अभिव्यक्ति प्रयोग गर्ने, द्वेषपूर्ण भाषण गर्न वा यस्ता सामग्री उत्पादन तथा प्रचारप्रसार गर्नसमेत आचारसंहिताले रोक लगाएको छ ।
कुनै प्रयोजनका लागि प्रकाशित वा प्रसारित सामग्रीलाई तोडमोड गरेर निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, कमेन्ट, प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन गर्नसमेत निषेध गरिएको आयोगले जनाएको छ । त्यसैगरी, निर्वाचनको विश्वसनीयता, आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा आँच पुर्याउने गरी आधारहीन आरोप लगाउन नपाइने व्यवस्था पनि आचारसंहितामा समेटिएको छ ।
कसैको चरित्र हत्या गर्ने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने किसिमका सामग्री उत्पादन गर्ने वा त्यस्ता सामग्री कुनै पनि माध्यमबाट प्रकाशन तथा प्रसारण गर्न नपाइने स्पष्ट गरिएको छ । मतदाता र मतदाताको गोपनीयता भंग गर्ने, निर्वाचनको स्वच्छता र निष्पक्षतामा असर पर्ने कुनै पनि गतिविधि गर्न नपाइने आयोगको चेतावनी छ । आयोगले आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता औपचारिक रूपमा लागू गर्दैछ ।

























