‘हिजो देश नबनेको चिन्ता थियो, आज देश नै हराउने डर छ’

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २७, आइतबार ०६:३८

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै अब देश नै नरहने हो कि भन्ने निराशा पैदा भएको बताएका छन् ।

राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शनिबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले राजसंस्था नारायणहिटी दरबारबाट बाहिरिएको करिब २ दशक बितिसक्दा पनि देशले भोग्नुपरेको संकट अझै समाधान हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । पूर्वराजा शाहले आफू राजकाजबाट अलग भएको लामो समय बितिसक्दा पनि राजनीतिक स्थायित्व, आर्थिक प्रगति र सामाजिक सद्भावको अवस्था सुदृढ हुन नसक्नुले आफूलाई गम्भीर रूपमा चिन्तित तुल्याएको बताए ।

‘नारायणहिटी राजदरबारबाट हामी बाहिरिएको करिब २ दशक बितिसक्दा पनि देशले सामना गर्नुपरेको संकटले हामीलाई चिन्तित तुलाएको छ । हिजो देश नबनेकोमा चिन्ता थियो । आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ,’ उनले सन्देशमा भनेका छन् । उनले भाषण, जादू वा चमत्कारले देश नबन्ने स्पष्ट उल्लेख गर्दै देश निर्माणका लागि सबै नेपालीले कर्तव्यबोधका साथ व्यवहारिक बाटो समात्नुपर्ने आवश्यकता औंल्याए ।

देश बनाउने काम १ एक व्यक्ति, समूह वा नाराबाट सम्भव नहुने भन्दै उनले बरु साझा जिम्मेवारी र ऐतिहासिक चेतनाको निरन्तरताबाट मात्र सम्भव रहेको उल्लेख गरे । ‘भाषण अनि जादू, चमत्कारले यो देश बनेको होइन र बन्दैन पनि,’ उनले भने, ‘सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरेको राजसंस्था जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै सक्दैन । सबै नेपालीले यो कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्नुपर्छ भन्ने हाम्रो धारणा र आह्वान छ ।’

पूर्वराजा शाहले झण्डै २ दशकअघि शान्ति, आर्थिक समृद्धि र स्थायित्व दिने प्रतिबद्धता व्यक्त गर्दै सत्तामा पुगेका राजनीतिक दलहरूको चाहनाअनुसार आफूले श्रीपेच जनताको नासोका रूपमा जनताकै सुरक्षित र संरक्षित निकायमा बुझाएको स्मरण गराए । उनले त्यसपछि सहयोगी नियतका साथ राजकाजबाट बाहिर बसेर देशको अवस्थालाई नियालिरहेको पनि उल्लेख गरे ।

उनले आधुनिक नेपालको ऐतिहासिक आधार स्मरण गर्दै पृथ्वीनारायण शाहको एकीकरण अभियान सफल भएपछि नेपाललाई ४ वर्ण ३६ जातको साझा फूलबारीका रूपमा चित्रण गरेको प्रसंग उठाए । उनका अनुसार यही साझा पहिचान, सहअस्तित्व र राष्ट्रिय एकता नै नेपालको मौलिक शक्ति हो । जसलाई कमजोर बनाउँदा राज्य स्वयं संकटमा पर्ने खतरा रहने शाहको भनाइ छ ।

पूर्वराजा शाहले फेरि पनि सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा राजसंस्थाले ऐतिहासिक रूपमा निर्वाह गर्दै आएको भूमिकालाई स्मरण गराउँदै जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुन नसक्ने धारणा दोहोर्‍याए । उनले राष्ट्रिय एकता, आत्मसम्मान र दीर्घकालीन स्थायित्वको प्रश्नमा सबै नेपाली गम्भीर हुनुपर्ने संकेत पनि दिए ।

उनको यो सन्देशलाई वर्तमान राजनीतिक अवस्था, बढ्दो असन्तोष र भविष्यप्रतिको अनिश्चिततासँग जोडेर हेरिएको छ । राष्ट्रिय एकता दिवसको सन्दर्भमा आएको यस अभिव्यक्तिले मुलुक कुन दिशातर्फ गइरहेको छ भन्ने प्रश्नलाई फेरि एकपटक सार्वजनिक बहसको केन्द्रमा ल्याएको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.