
काठमाडौँ । चर्चित अभिनेता दयाहाङ राईले आफ्नो आगामी चलचित्र ‘मिरमिरे’ अभिभावकले सन्तानप्रति देख्ने भविष्य र एउटा बुवाले छोरीका लागि गर्ने त्यागको भावनात्मक कथा भएको बताएका छन्। माघ १ गतेदेखि प्रदर्शनमा आउन लागेको यस चलचित्रबारे चर्चा गर्दै दयाहाङले यसमा बुवा र छोरीबीचको सम्बन्धलाई सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको उल्लेख गरे।
दयाहाङका अनुसार चलचित्रमा एक बुवाले आफ्ना मुख्य कुराहरू लुकाएर छोरीको अगाडि देखाउने कृत्रिम खुसी र त्यस पछाडिको सङ्घर्षलाई देखाइएको छ। ‘यो इमोसनलाई भित्रैबाट कसरी पर्दामा उतार्न सकिन्छ भन्नेमा म केन्द्रित भएँ,’ उनले भने।
उनले ‘मिरमिरे’ झट्ट हेर्दा बाबु र छोरीको सामान्य कथा जस्तो देखिए पनि गहिरिएर हेर्दा यसमा जीवनका धेरै पक्षहरू लुकेको दाबी गरे। ‘झट्ट हेर्दा केही नदेखिने तर एकछिन सोचेर हेर्दा धेरै कुरा देखिने भएकाले नै मैले यो चलचित्र रोजेको हुँ,’ उनले थपे। दयाहाङले यस चलचित्रलाई दर्शकले ‘प्यासन’का साथ हेर्नुपर्ने बताए। उनका अनुसार यो सिनेमा हेरेपछि दर्शकलाई केही समय सोच्न बाध्य बनाउने खालको छ।
यम शेर्पाको लेखन तथा निर्देशन रहेको ‘मिरमिरे’ माघ १ गते (माघे संक्रान्ति) को अवसर पारेर देशभर प्रदर्शन हुँदैछ। यार्सा फिल्मसको प्रस्तुति रहेको यस चलचित्रमा दयाहाङका साथै प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकारहरूको मुख्य भूमिका छ। चलचित्रलाई निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पाले निर्माण गरेका हुन् भने आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरणको जिम्मेवारी लिएका छन्।



















