
धनकुटा । ऐतिहासिक छिन्ताङ हत्याकाण्डका सहिद परिवारले राज्यबाटै आफूहरू उपेक्षित र पहिचानविहीन हुनुपरेको गुनासो गरेका छन्। कोशी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली सहिदभूमि गाउँपालिका पुग्दा उनीहरूले यस्तो दुखसो पोखेका हुन्।
२०३६ सालको भोकमरीविरुद्धको आन्दोलनमा ज्यान गुमाएका १६ जनालाई २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सहिद घोषणा गरेको थियो। तर, आधिकारिक अभिलेख र परिचयपत्रको अभावमा आफूहरूको पहिचान नै संकटमा परेको सहिद परिवारको भनाइ छ।
छिन्ताङ हत्याकाण्डका सहिद धनबीर दर्जीका छोरा सोमबहादुर नेपालीले मन्त्रीसँग आग्रह गरे, ‘हाम्रा बुबा र गाउँलेको बलिदानबाट प्रजातन्त्र आयो, तर राज्यले हामीलाई नै पहिचानविहीन बनायो। हाम्रो योग्यता र क्षमता अनुसार रोजगारीको व्यवस्था होस्।’
मन्त्री पराजुलीले पञ्चकन्यास्थित सहिद पार्कमा सहिदका शालिकमा माल्यार्पण गरेपछि परिवार र आफन्तसँग छलफल गरेका थिए। सो क्रममा उनले सहिदका आश्रित परिवारलाई आत्मनिर्भर बनाउन प्रदेश सरकार सकारात्मक रहेको बताए।
‘सहिद परिवारको जीविकोपार्जन, शिक्षा र सामाजिक सुरक्षाका विषयमा म प्रतिबद्ध छु,’ मन्त्री पराजुलीले भने, ‘छिन्ताङका सहिद परिवारका समस्या सम्बोधन गर्न म प्रदेश र केन्द्र सरकारसँग आवश्यक समन्वय गर्नेछु।’
२०३६ कात्तिक २२ देखि २९ गतेसम्म तत्कालीन पञ्चायती सरकारले भोकमरीविरुद्ध आन्दोलनमा उत्रिएका किसानमाथि दमन गरेको थियो। ‘विशेष प्रहरी कारबाही’का नाममा तत्कालीन खोकु, छिन्ताङ र आखिसल्लामा धरपकड र यातना दिँदै १३ जना छिन्ताङका र ३ जना आखिसल्लाका गरी १६ जनाको हत्या गरिएको थियो। मारिनेमा दुई महिला र नाबालक समेत थिए।

























