
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा म्यादी प्रहरी (निर्वाचन प्रहरी)मा भर्ना हुनका लागि हालसम्म ४ हजार ७ सय ८१ जनाको दरखास्त परेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार मंगलबारसम्ममा मागभन्दा धेरै दरखास्त परिसकेको हो । फारम भर्नेमध्ये ३ हजार ४ सय ३७ जना पुरुष र १ हजार ३ सय ४४ जना महिला छन् । मोरङमा ४ हजार ३ सय ८३ जना निर्वाचन प्रहरीको माग भएको थियो ।
हालसम्म माग गरिएको भन्दा ३ सय ९८ जना बढीले फारम भरिसकेका छन् । निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेको दरखास्त फारम पुस २५ गते शुक्रबारबाट लिन थालिएको थियो । फराम भर्ने समय माघ १ गतेसम्म तोकिएको छ ।
एसपी कटवालले निर्वाचन प्रहरीमा भर्ना हुनेको संख्या बढ्ने बताए । ‘हालसम्म ४ हजार ७ सय ८१ जनाले फराम भरेका छन् । अझै २ दिन समय छ । त्यो संख्या बढ्छ,’ उनले भने । म्यादी हुन इच्छुकलाई तोकिएको योग्यतामा रहेर फराम भर्ना जिल्ला प्रहरी कार्यालय मोरङले अनुरोध गरेको छ ।
निर्वाचन प्रहरीको माग गरिएसँगै जिल्ला प्रहरी कार्यालय मोरङ परिसरमा आवेदन दिनका लागि युवायुवतीको विशेष आकर्षक देखिएको थियो । फराम भरेकाहरुबाट छनोट गरेर निर्वाचनमा परिचालन गरिने छ । उनीहरुलाई सरकारले तोकेबमोजिमको सेवा सुविधा उपलब्ध गराइने छ ।
म्यादी प्रहरी हुनलाई १८ वर्ष पूरा भइ ५४ वर्ष नघाघेका व्यक्तिले आवेदन दिन सक्ने छन् । नेपाली नागरिकसँगै फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक रुपमा स्वस्थ्य, आतंककारी तथा विध्वंसकारी संगठनमा आबद्धता नभएकाले म्यादी प्रहरी हुन पाउने छन् ।
आवश्यक मापदण्ड पूरा गरेपछि छनोटमा परेका निर्वाचन प्रहरीलाई मतपेटिका सुरक्षा, भिडभाड व्यवस्थापनलगायतका सुरक्षात्मक विषयमा तालिम दिएर चुनावमा खटाइने छ । मोरङमा प्रतिधिसभाका लागि ६ वटा निर्वाचन क्षेत्र छन् ।

























