
सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा मंगलबार साँझ हतियारधारी समूहले ठुलो परिमाणमा लुटपाट गरेको छ। पाँच जनाको संख्यामा आएका नकाबधारी लुटेराहरूले बैंकका कर्मचारी र सुरक्षागार्डलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएका हुन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बनेपातर्फबाट टाटा सुमोमा आएका लुटेराहरूले बैंकमा प्रवेश गर्नेबित्तिकै सुरक्षागार्डलाई बाँधेर पेस्तोल देखाउँदै खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट सुरक्षागार्ड घाइते भएका छन्। बैंकका कर्मचारी र गार्डको हातखुट्टा बाँधेर लुटेराहरू रकमसहित फरार भएका थिए।
लुटपाट लगत्तै स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा लुटपाटमा प्रयोग गरिएको बा ३ डी ०३९८ नम्बरको इम्बोस्ड नम्बर प्लेट भएको टाटा सुमो र त्यसका चालकलाई नियन्त्रणमा लिन सफलता मिलेको छ। घ्याङलेख गाउँपालिका–२ का वडा अध्यक्ष रोशन भ्लोनका अनुसार उक्त सवारी साधनलाई गाउँपालिकाको वडा नम्बर १ अन्तर्गत पर्ने टुनी भञ्ज्याङ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
वडा अध्यक्ष भ्लोनले नियन्त्रणमा लिइएको सुमोबाट लुटिएको रकममध्ये दुई बोरा पैसा समेत बरामद भएको जानकारी दिएका छन्। यद्यपि, बरामद भएको रकमको यकिन परिमाण खुल्न बाँकी रहेको छ। बरामद सवारी साधन र रकमलाई हाल इलाका प्रहरी कार्यालय बस्तिपुरमा राखिएको छ। लुटपाटमा संलग्न अन्य व्यक्तिहरू भने रकमको केही हिस्सासहित जंगलतर्फ फरार भएकाले उनीहरूको खोजीका लागि जिल्लाभर व्यापक प्रहरी परिचालन गरी खोजतलास अभियान जारी राखिएको छ। बैंकमा भएको यस गम्भीर लुटपाटको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

























