
भैरहवा । भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा एक यात्रुले अनधिकृत रूपमा आपतकालीन ढोका खोलेपछि उडान प्रभावित भएको छ। बुधबार निर्धारित उडान नम्बर ८५२ (जहाज ९एन–एएमडी) मा सवार यात्रु सुमन गौतमले आकस्मिक ढोका खोलेका हुन्।
उक्त घटना लगत्तै हवाई सुरक्षालाई ध्यानमा राख्दै उडान तत्काल स्थगित गरिएको थियो। बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार हवाई सुरक्षा मापदण्डअनुसार जहाजको पूर्ण सुरक्षा सुनिश्चित गर्न प्राविधिक परीक्षण अनिवार्य हुन्छ। ढोका खोलिएपछि जहाजमा कुनै प्राविधिक क्षति पुगेको छ वा छैन भन्ने जाँच गर्न काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ।
ढोका खोल्ने यात्रु गौतमलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको बुद्ध एयरले जनाएको छ। प्राविधिक टोलीले जहाजको विस्तृत परीक्षण गरी सुरक्षित ठहर गरेपछि मात्र पुनः उडान सञ्चालन गरिनेछ।
यस घटनाका कारण उडान ढिलाइ हुँदा यात्रुहरूलाई पर्न गएको असुविधाप्रति बुद्ध एयरले जानकारी गराउँदै सुरक्षा प्रक्रिया पूरा नभएसम्म धैर्य गर्न आग्रह गरेको छ। हवाई सुरक्षामा गम्भीर असर पुर्याउने यस्ता गतिविधिबारे थप अनुसन्धान भइरहेको छ।

























