
काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित भएको दाबी गर्ने गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरूले आधिकारिकताको माग गर्दै निर्वाचन आयोग अगाडि धर्ना दिएका छन्। शुक्रबार दिउँसो थापा पक्षीय केन्द्रीय सदस्य र नेताहरूले आयोगको गेट अगाडि पलेँटी कसेर धर्ना दिएका हुन्।
बिहीबार मात्रै केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निवेदन दिएको थापा समूहले आफूहरूलाई तत्काल आधिकारिक घोषणा गर्न दबाब दिने उद्देश्यले धर्ना सुरु गरेको हो। निर्वाचनको मनोनयन दर्ता नजिकिँदै गर्दा आयोगले निर्णय गर्न ढिलाइ गरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।
शुक्रबार बिहान मात्रै देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको टोलीले पनि आफूहरू नै आधिकारिक भएको दाबी गर्दै ८८५ प्रतिनिधिको हस्ताक्षर फिर्ताको पत्र बुझाएको थियो। दुवै पक्षको शक्ति प्रदर्शन र दाबीले आयोगलाई निर्णय लिन निकै दबाब परेको छ।
यसअघि नै निर्वाचन आयोगले संविधान, राजनीतिक दल सम्बन्धी ऐन, कांग्रेसको विधान र विगतका नजिरका आधारमा मात्रै निर्णय दिने स्पष्ट पारिसकेको छ। गगन पक्षको धर्ना जारी रहँदा आयोग परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

























