
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान, सार्वभौम सत्ता र राष्ट्रिय स्वाधीनतामाथि निरन्तर आक्रमण भइरहेको बताएका छन्।
एमाले राजधानी प्रदेश कमिटीले आयोजना गरेको निर्वाचन तयारी तथा कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।
अध्यक्ष ओलीले न्याय निरूपण गर्ने निकायहरू अहिले त्रासको छायामा रहेको र धम्कीका आधारमा निर्णय गर्नुपर्ने अवस्था सिर्जना भएको दाबी गरे।
नेपाली कांग्रेसमा देखिएको विवाद र विभाजनतर्फको अवस्थालाई दुःखद भन्दै उनले संविधान र प्रणाली घायल भएको बेला कांग्रेस आन्तरिक कलहमा अल्झिनु आश्चर्यजनक भएको टिप्पणी गरे।
देश र लोकतन्त्र रक्षाका लागि एमालेका कार्यकर्ताहरूले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिँदै उनले निर्वाचन आयोगको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।

























